काठमाडौं। ओमानमा जारी आइसीसी विश्वकप लिग- २ अन्तर्गतको सिरिजमा नेपालले विजयी शुरुवात गरेको छ।
नेपालले आइतबार सम्पन्न खेलमा क्यानडालाई २४ रनले पराजित गर्दै सिरिजमा विजयी शुरुवात गरेको हो।
नेपालले दिएको २३६ रनको लक्ष्य पछाएको क्यानडाले ४८.४ ओभरमा अल आउट हुदै २११ रन बनाएको थियो।
क्यानडाका लागि एरोन जोनसनले सर्बाधिक ४४ रन बनाए भने समित पटेलले ३५, अखिल कुमारले अविजित ३० र श्रेयस मोभ्भा र कप्तान हम्जा तारिकले २६-२६ रन बनाएका थिए।
त्यस्तै नेपाली बलर नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र ललित राजबंशीले २-२ विकेट लिएका थिए।
यसअघि नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा अल आउट हुदै २३५ रन बनाएको थियो।
नेपालका लागि पुर्वकप्तान रोहित पौडेलले १०१ रनको शतकीय पारी खेलेका थिए। रोहितले १२५ बल खेल्दै ८ चौका र एक छक्कासहित शतक प्रहार गरेका हुन्। रोहितको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो तेस्रो शतक हो। रोहितले यसअघि २०२२ मा पिएनजीविरुद्ध १२६ रन बनाएका थिए भने २०२५ मा युएईविरुद्ध १०९ रन बनाएका थिए। त्यस्तै गुलशन झाले ४८ रन बनाए भने बसिर अहमदले ३० र अर्जुन कुमालले २३ रन बनाएका थिए। त्यस्तै क्यानडाका बलर अखिल कुमारले ४ विकेट लिए भने सुख्जिन्द सिंह ले ३ विकेट र जाहिद शिजादले २ विकेट लिएका थिए।
अब सिरिजको अर्को खेलमा नेपालले मंगलबार ओमानको सामना गर्दैछ।


