खेतबारीमा महिनावारी स्वच्छताबारे सचेतना, ६० जनाको सहभागिता

एटुजेड समाचार

चितवन — स्पाउस क्लब अफ आरसी चितवनको आयोजना तथा रोटरी क्लब अफ चितवनको सहयोगमा इच्छाकामना गाउँपालिका–७, खेतबारीस्थित श्री राष्ट्रिय आधारभूत विद्यालयमा महिनावारी स्वच्छता तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार, २०८३ असोज २३ गते (९ अक्टोबर २०२६) सम्पन्न कार्यक्रममा कक्षा ७ र ८ मा अध्ययनरत छात्रा, विद्यालयका शिक्षिका तथा स्थानीय महिलासहित करिब ६० जनाको सहभागिता रहेको थियो।

महिनावारीसम्बन्धी सही र वैज्ञानिक जानकारी प्रदान गर्ने, व्यक्तिगत सरसफाइको महत्व बुझाउने तथा महिनावारीप्रतिको सामाजिक भ्रम, संकोच र विभेद हटाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा स्पाउस क्लब अफ आरसी चितवनकी अध्यक्ष तथा स्टाफ नर्स जानकी तिवारी शर्माले स्रोत व्यक्तिका रूपमा सहजीकरण गरेकी थिइन्। उनले महिनावारीको प्रक्रिया, यस समयमा अपनाउनुपर्ने व्यक्तिगत सरसफाइ, स्यानिटरी प्याडको सुरक्षित प्रयोग तथा व्यवस्थापन, संक्रमणबाट बच्ने उपाय र पोषणयुक्त खानपानको महत्वबारे जानकारी दिएकी थिइन्।

अध्यक्ष शर्माले महिनावारी महिलामा हुने प्राकृतिक जैविक प्रक्रिया भएकाले यसलाई लाज, डर वा भेदभावको विषय बनाउन नहुने बताएकी थिइन्। उनले किशोरीहरूलाई महिनावारीसम्बन्धी समस्या तथा जिज्ञासाबारे खुलेर प्रश्न गर्न, आवश्यक स्वास्थ्य परामर्श लिन र व्यक्तिगत स्वच्छतामा विशेष ध्यान दिन आग्रह गरेकी थिइन्।

महिनावारी सम्बन्धी गलत धारणा हटाउन परिवार, विद्यालय र समुदाय सबैको सकारात्मक भूमिका आवश्यक रहेकोमा जोड दिँदै उनले किशोरीहरूलाई आफ्नो स्वास्थ्यप्रति सचेत र आत्मविश्वासी बन्न पनि प्रेरित गरेकी थिइन्।

कार्यक्रमले किशोरी तथा महिलामा महिनावारीसम्बन्धी वैज्ञानिक ज्ञान र स्वच्छताका अभ्यासबारे चेतना अभिवृद्धि गर्नुका साथै यस विषयमा खुलेर छलफल गर्ने वातावरण निर्माण गर्न सहयोग पुर्‍याएको आयोजकले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु