काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित बन्दा दुई महत्त्वपूर्ण सडक खण्डमा आवागमन पूर्ण रूपमा ठप्प भएको छ भने तीन स्थानमा एकतर्फी मात्रै यातायात सञ्चालन भइरहेको छ ।
नेपाल प्रहरीले आज ११ बजेसम्मको सार्वजनिक गरेको विवरण अनुसार बागमती प्रदेशअन्तर्गत रसुवा जिल्लाका सबै मुख्य राजमार्गहरू बाढीका कारण अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा बन्द रहेका छन् ।त्यस्तै गण्डकी प्रदेशको म्याग्दीस्थित रघुगंगा गाउँपालिका–२, बैसरीमा खसेको पहिरोका कारण बेनी–जोमसोम सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
यसैगरी धादिङको धुनिबेशी नगरपालिका–९, खत्रीपौवामा पहिरो खसेपछि त्रिभुवन राजपथ हाल एकतर्फी रूपमा मात्र सुचारु रहेको छ । उता नवलपरासी (पूर्व) को बौदीकाली गाउँपालिका–३, जन्ती पहिरोस्थित कालीगण्डकी कोरिडोर पनि एकतर्फी मात्रै खुलेको छ, जहाँबाट ठुला सवारी साधन आवतजावत गर्न सक्ने अवस्था छैन ।
साथै, बाढीका कारण प्रभावित बनेको लमजुङको बेसीसहर हुँदै मनाङको खाङसारसम्म जोड्ने सडक खण्डमा पनि हाल एकतर्फी रूपमा मात्रै यातायात चलिरहेको छ। प्रहरीले अवरोध हटाएर सडक पूर्ण रूपमा खुलाउने प्रयास जारी रहेको जनाएको छ ।


