भरतपुर – भरतपुर महानगरपालिका–२ क्षेत्रपुर क्षेत्रमा बढ्दै गएको चोरी, लुटपाट तथा अन्य असामाजिक गतिविधि नियन्त्रणका लागि स्थानीयवासीले प्रहरी बिट स्थापना गर्न माग गरेका छन्।
क्षेत्रपुरअन्तर्गतका पाँच वटा टोल विकास संस्थाले बिहीबार जिल्ला प्रशासन कार्यालय चितवन पुगेर प्रमुख जिल्ला अधिकारीसमक्ष प्रहरी बिट स्थापनाको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन्। आदर्श नगर नमुना टोल विकास संस्थाका अध्यक्ष किरण आचार्यको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा भरतपुर महानगरपालिका–२ स्थित महानगर फलफूल तथा तरकारी बजार क्षेत्र व्यावसायिक तथा आवासीय दुवै दृष्टिकोणबाट महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गरिएको छ। फलफूल तथा तरकारी खरिद–बिक्रीको मुख्य केन्द्रका रूपमा रहेको उक्त क्षेत्रमा दैनिक ठूलो संख्यामा सवारीसाधन तथा मानिसको आवतजावत हुने गरेको स्थानीयवासीले बताएका छन्।
बजार परिसर तथा आसपास पार्किङ गरिएका सवारीसाधनको आड र अत्यधिक भीडभाडको फाइदा उठाउँदै चोरी, लुटपाट, लागुऔषध सेवन तथा अन्य दुर्व्यसनजन्य गतिविधि बढ्दै गएको ज्ञापनपत्रमा उल्लेख छ।
यस्ता गतिविधिका कारण बजार क्षेत्रमा व्यवसाय सञ्चालन गर्ने व्यवसायी तथा स्थानीयवासीमा असुरक्षाको भावना बढ्दै गएको उनीहरूको भनाइ छ। क्षेत्रपुरअन्तर्गत बुद्ध टोल, आदर्श नगर नमुना टोल, मितेरी टोल र रामेश्वर टोललगायत क्षेत्रमा करिब १ हजार घरधुरीका ५ हजारभन्दा बढी नागरिक बसोबास गर्दै आएका छन्।
ठूलो जनघनत्व तथा दैनिक रूपमा हुने व्यापारिक गतिविधिलाई मध्यनजर गर्दै स्थानीयवासीको सुरक्षा सुनिश्चित गर्न बजार क्षेत्र आसपास तत्काल प्रहरी बिट स्थापना गर्न आवश्यक रहेको ज्ञापनपत्रमा माग गरिएको छ।
स्थानीयवासीले प्रहरीको नियमित उपस्थिति र निगरानी बढाउन सके चोरी, लुटपाट, लागुऔषध तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।


