कांग्रेसको १५औँ महाधिवेशन : आज उम्मेदवारी दर्ता, २९७ सदस्यीय केन्द्रीय समिति चयन हुँदै

एटुजेड समाचार

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा जारी छ।

महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढेको छ। सोमबार राति मतदाता नामावली प्रकाशित गर्दै उम्मेदवारी दर्तासम्बन्धी अन्तिम कार्यतालिका सार्वजनिक गरिएको छ।

तालिका अनुसार आज दिउँसो १२:३० देखि ४:०० बजेसम्म उम्मेदवारी दर्ता (मनोनयन पत्र दर्ता) गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

तालिका अनुसार आजै मनोनयन दर्ताअघिका अन्य प्रक्रियाहरू पनि सम्पन्न हुनेछन्। जसमा मतदाता नामावलीमाथि दाबी विरोध र त्यसको टुंगो लगाउने कार्य बिहान ९:३० देखि १०:३० बजेसम्म हुनेछ।

सोही दिन बिहान ११:३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ भने बिहान १०:०० बजेदेखि नै मनोनयन दर्ता फारम वितरण सुरु भइसकेको छ।

यस पटक नेपाली कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय हुने भएको छ। कांग्रेसको महाधिवेशनबाट विधान संशोधन भएसँगै केन्द्रीय समितिको आकार साबिकको भन्दा ठुलो भएको हो।

यसअघि कांग्रेस केन्द्रीय समिति १६६ सदस्यीय थियो। कांग्रेसको जारी १५औं महाधिवेशनको दोस्रो दिन सोमबार खुलामञ्चमा भएको बन्दसत्रमा महामन्त्री प्रदीप पौडेलले पेस गरेको संशोधित विधान प्रस्ताव पारित भएसँगै केन्द्रीय समितिको आकार बढेको हो।

संशोधित विधानअनुसारमा केन्द्रीय समितिमा २५ पदाधिकारी रहने छन्। जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापतिमा कम्तीमा एक महिलासहित चार जना रहने छन्। कांग्रेसले पहिलो पटक वरिष्ठ उपसभापति पद थप गरेको हो। पारित विधानअनुसार महामन्त्रीमा कम्तीमा एक महिलासहित तीन जना रहने छन्। सहमहामन्त्रीमा १५ जना रहने छन्।

केन्द्रीय सदस्यमध्येबाट एक जनालाई कोषाध्यक्षमा मनोनीत गरिने छ। यसैगरी पार्टीका एक प्रवक्ता र एक सहप्रवक्ता रहने व्यवस्था पनि गरिएको छ। केन्द्रीय सदस्यहरूमा खुलामा ४५ जना रहने छन्। महिला खुलामा १५ जना हुने छन्। हरेक प्रदेशबाट एक महिलासहित चार जना सदस्य हुने छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु