काठमाडौं – नेपाली कांग्रेसले भविष्यमा हुने कुनै पनि निर्वाचनमा चुनावअघि अन्य दलसँग गठबन्धन नगर्ने प्रस्ट नीति अघि सारेको छ।
काठमाडौंमा जारी १५औं महाधिवेशनमा सभापति गगन थापाले पेस गरेको राजनीतिक प्रस्तावमा आफ्नै चुनाव चिह्न रुखमा मात्रै चुनाव लड्ने दृढ संकल्प गरिएको हो।
विगतका निर्वाचनहरूमा अन्य दलसँग गठबन्धन गर्दा पार्टीको पहिचान र जनसम्बन्ध कमजोर भएको निष्कर्ष निकाल्दै कांग्रेसले अब एक्लै भिड्ने नीति लिएको हो।
दस्तावेजमा भनिएको छ, ‘निर्वाचनपूर्व गठबन्धन नगरी रुख चिह्नमा आफ्नै उम्मेदवार र कार्यक्रमसहित प्रतिस्पर्धा गर्ने प्रतिबद्धतामा हामी दृढ छौं।‘
पार्टीले के गर्ने र के नगर्ने भनेर छुट्याएको राजनीतिक मर्यादा खण्डमा पनि निर्वाचनपूर्व गठबन्धन र मतको अंकगणितमा आफ्नो पहिचान निर्भर नबनाउने स्पष्ट पारिएको छ। आफ्नै पार्टीको चिह्न, कार्यक्रम र उम्मेदवारसहित प्रतिस्पर्धा गर्दै जित्न योग्य बन्ने पार्टीको घोषणा छ।


