काठमाडौं। नेपाली कांग्रेसका युवा नेता डा.सन्तोष उपाध्यायले पार्टीमा नयाँ पुस्ताको सहभागिता र नेतृत्वलाई बलियो बनाउन महामन्त्रीमा उम्मेदवारी दिने भएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनको सन्दर्भमा धारणा सार्वजनिक गर्दै उनले क्षमता, योगदान र जनसम्बन्धका आधारमा युवालाई अवसर दिनुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार नयाँ पुस्ताले कांग्रेसमा नेतृत्व पुस्तान्तरण मात्र होइन, नयाँ सोच, कार्यशैली, जवाफदेहिता र समयअनुकूल निर्णय क्षमताको अपेक्षा गरेको छ। बदलिँदो जनभावना र युवाको अपेक्षालाई आत्मसात् गर्दै पार्टीलाई थप गतिशील र जनमुखी बनाउनुपर्ने उनको भनाइ छ।
उपाध्यायले पार्टीभित्र क्षमता, अनुभव, राजनीतिक संस्कार र संगठनको गहिरो बुझाई भएका थुप्रै युवा रहे पनि उनीहरूले पर्याप्त अवसर र जिम्मेवारी नपाएको उनको ठहर छ।
नेताको गुणगान वा व्यक्तिगत पहुँचका आधारमा नभई योग्यता, योगदान र जनसम्बन्धका आधारमा अवसर दिने राजनीतिक संस्कार विकास गर्नुपर्नेमा उनको जोड छ।
‘कांग्रेस लास र दासको पार्टी होइन भनिन्छ, तर यो भावना व्यवहारमा पनि देखिनुपर्छ,’ उनले भने, ‘पार्टीभित्र प्रश्न गर्न सक्ने, फरक मत राख्न सक्ने र स्वतन्त्र रूपमा काम गर्ने युवालाई पनि समान अवसर दिने राजनीतिक संस्कार निर्माण गर्नुपर्छ।’
आफू कुनै व्यक्तिको चाकडी नगरी क्षमता र योगदानका आधारमा अवसर पाउनुपर्छ भन्ने पुस्ताको आवाज बन्न चाहेको उनले बताएका छन्।
उनले आफ्नो मुख्य संकल्प ‘क्षमताको सम्मान, योगदानको मूल्यांकन र अवसरमा न्याय’ रहेको बताएका छन्।
उपाध्यायले आफ्नो नेतृत्व यात्रा अछामबाट सुरु भएको र चिकित्सा, सामाजिक सेवा, संगठन, सञ्चार, खेलकुद तथा अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरेको विवरण सार्वजनिक गरेका छन्।
उपाध्यायले आफू करिब १७ वर्षदेखि नेपाली कांग्रेस र नेपाल विद्यार्थी संघसँग आबद्ध रहेको बताएका छन्। नेपाल विद्यार्थी संघको केन्द्रीय समितिदेखि एनएसयू आइओएमको नेतृत्व, प्रचार–प्रसार समितिको संयोजन तथा कांग्रेसका महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिका रूपमा काम गरेको उनले उल्लेख गरेका छन्।
यसलाई उनले संगठनलाई बाहिरबाट हेरेर नभई लामो समयदेखि संगठनभित्र रहेर काम गरेको अनुभवका रूपमा प्रस्तुत गरेका छन्।
कांग्रेसको आगामी महाधिवेशनमा नयाँ पुस्ताको भूमिका बढाउनुपर्ने उनको जोड छ। पुरानो पुस्ताको अनुभव र योगदानसँगै नयाँ पुस्ताको ऊर्जा, क्षमता र सिर्जनशीलतालाई जोडेर अघि बढे पार्टी थप प्रभावकारी बन्ने उनको भनाइ छ।
सार्वजनिक संवाद र कान्तिपुर टिभी लगायतक सञ्चार क्षेत्रमा पनि उनले काम गरेका छन्। खेलकुद व्यवस्थापनतर्फ नेपाल भलिबल लिगमा कार्यकारी निर्देशक तथा सह मालिकका रूपमा काम उनले काम गरिरहेका छन्।
त्यस्तै, अन्तर्राष्ट्रियस्तरमा ३० देशका करिब ४०० प्रतिनिधि सहभागी सम्मेलनको नेतृत्वदेखि विभिन्न अन्तर्राष्ट्रिय संस्थामा जिम्मेवारी सम्हालेको विवरण पनि उनले सार्वजनिक गरेका छन्।
उनले चिकित्सा क्षेत्रको अनुभव, युवाको ऊर्जा, संगठनात्मक पृष्ठभूमि, सामाजिक सम्बन्ध र अन्तर्राष्ट्रिय अनुभवलाई आफ्नो नेतृत्व यात्राका आधारका रूपमा प्रस्तुत गरेका छन्।
उपाध्यायले कांग्रेसको आगामी यात्रामा नयाँ पुस्तालाई केवल भविष्यको शक्ति नभई वर्तमान नेतृत्वकै महत्वपूर्ण हिस्साका रूपमा स्थापित गर्नुपर्ने बताए।
आगामी स्थानीय निर्वाचनमा युवा नेतृत्व र उम्मेदवारको उल्लेख्य सहभागिता सुनिश्चित गर्दै कांग्रेसलाई जनतासँग थप जोड्ने अभियानमा सक्रिय हुने उनको भनाइ छ।
‘नयाँ पुस्ता केवल कांग्रेसको भविष्य होइन, अब कांग्रेसको वर्तमान नेतृत्वको पनि महत्वपूर्ण शक्ति हो,’ उनले भने।
उनको भनाइमा आगामी महाधिवेशन नेतृत्व चयनसँगै पार्टीभित्र क्षमता, योगदान र अवसरको मापदण्डबारे बहस गर्ने अवसर पनि हो। त्यसैले नयाँ पुस्ताको प्रतिनिधित्व, संगठनात्मक अनुभव र आफ्नो कार्यक्षमताका आधारमा आफूलाई प्रस्तुत गर्दै महामन्त्रीका लागि अघि बढेको उनले बताएका छन्।


