भरतपुर – परम्परागत खेलकुदसँगै प्रविधिमा आधारित खेलको सम्भावना पनि विस्तार हुँदै गएको बेला चितवनमा ई–स्पोर्ट्स संघ जिल्ला समिति गठन भएको छ।
भरतपुर कभर्डहलमा शनिबार आयोजित कार्यक्रममा जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष राजन कार्कीको प्रमुख आतिथ्यतामा नयाँ कार्यसमिति गठन गरिएको हो।
नवगठित समितिको अध्यक्षमा सुशिल कार्की चयन भएका छन्। उपाध्यक्षमा आशिष सुबेदी र बिभोर रेग्मी, सचिवमा उज्ज्वल रिजाल तथा कोषाध्यक्षमा आशिष पराजुली चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा अजय प्रजा, अशिम दाहाल, सन्देश बस्नेत र सम्राट रिजाल रहेका छन्।
ई–स्पोर्ट्सलाई केवल मोबाइल वा कम्प्युटरमा खेलिने खेलका रूपमा मात्र होइन, युवा प्रतिभा, प्रविधि, अनुशासन, प्रतिस्पर्धा र सम्भावनाको नयाँ क्षेत्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित समिति गठन गरिएको हो।
चितवनका थुप्रै युवाभित्र लुकेको ई–स्पोर्ट्स प्रतिभालाई पहिचान गर्दै उनीहरूलाई प्रशिक्षण, प्रतियोगिता र उचित अवसर प्रदान गर्न नयाँ समितिले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
आज गठन भएको यो समिति एउटा संस्थाको सुरुवात मात्र होइन, प्रविधिसँग हुर्किएको नयाँ पुस्ताको सपना र सम्भावनालाई खेलकुदको औपचारिक मञ्च दिने सुरुवात पनि हो।
परम्परागत खेल मैदानसँगै अब डिजिटल मैदानमा पनि चितवनको पहिचान बनाउने यात्रा सुरु भएको छ।


