कांग्रेस महाधिवेशन: केन्द्रीय कार्यसमितिका लागि असोज १९ गते उम्मेदवारी दर्ता

एटुजेड समाचार

काठमाडौं। नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता असोज १९ गते हुने भएको छ।

केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको मनोनयन पत्र दर्ता असोज १९ गते हुने जानकारी दिदै योग्य उम्मेदवारलाई तोकिएको समयभित्र मनोनयन दर्ता गर्न आग्रह गरेको छ।

निर्वाचन समितिका अनुसार असोज १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभागृहमा मनोनयन पत्र दर्ता हुनेछ। समितिले तोकिएको समयभित्र मनोनयन पत्र दाखिला गर्न सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेको छ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दिन योग्य प्रतिनिधिले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गर्नुपर्नेछ। उम्मेदवारी दर्तासँगै महाधिवेशनमा नेतृत्व चयनको औपचारिक प्रक्रिया अघि बढ्नेछ।

निर्वाचन समितिले भने निर्वाचन कार्यक्रमको विस्तृत विवरण पछि सार्वजनिक गरिने जनाएको छ।

काँग्रेसको उम्मेदवार बन्न केन्द्रीय सभापतिका लागि ४० हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ भने केन्द्रीय उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु