काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीलाई लिएर नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रश्न उठाएका छन्।सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको नेकपाको सङ्घीय संसदीय दलको बैठकमा प्रचण्डले सरकारको ६ महिनाको कार्यसम्पादनबारे समीक्षा गर्दै प्रधानमन्त्री शाहको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेको बैठकमा सहभागी नेताहरूले बताएका छन्।
प्रचण्डको प्रश्न : सरकार पारदर्शी र संसद्प्रति जवाफदेही छ ?
बैठकमा प्रचण्डले सरकार संसद्प्रति पर्याप्त जवाफदेही नदेखिएको र पारदर्शिताको विषयमा प्रश्न उठाएको नेकपाका प्रमुख सचेतक युवराज दुलालले बताएका छन्।
उनले सरकार ६ महिनामा अपेक्षित दिशामा अघि बढ्न नसकेको प्रचण्डको निष्कर्ष रहेको जानकारी दिए।बैठकमा संसद्को प्रभावकारिता, जनसरोकारका मुद्दा, कानुन निर्माण, पार्टी संगठन सुदृढीकरण र आगामी स्थानीय तह निर्वाचनको तयारीबारे पनि छलफल भएको बताइएको छ।रुकुम पश्चिमबाट निर्वाचित सांसद गोपाल शर्माका अनुसार सत्तापक्षका सांसदलाई समेत बाइपास गरेर सरकार अघि बढेको विषयमा बैठकमा छलफल भएको थियो। उनले सरकारको स्थायित्वबारे पनि प्रश्न उठेको बताए।
सरकारको ६ महिने कार्यशैलीमाथि नेकपाको समीक्षा :
यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको आन्तरिक विवादलाई लिएर कुनै राजनीतिक साँठगाँठ नभएको नेकपा सांसद शर्माले स्पष्ट पारेका छन्।बैठकले प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने तथा संसद् अधिवेशन अन्त्य भएपछि सांसदहरूलाई निर्वाचन क्षेत्रमा केन्द्रित हुन निर्देशन दिने निर्णय पनि गरेको छ।यसअघि सरकारको राम्रो कामको समर्थन र कमजोरीको आलोचना गर्ने बताउँदै आएका प्रचण्डले पछिल्लो समय बालेन नेतृत्वको सरकारको कार्यशैलीबारे निरन्तर प्रश्न उठाउँदै आएका छन्।


