काठमाडौं। हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ। साथै बङ्गालको खाडीको पश्चिम-मध्य तथा उत्तर-पश्चिमी क्षेत्रमा गहिरो न्यून चापीय प्रणाली सक्रिय रहेको र यो आगामी दिनमा अझ शक्तिशाली बन्दै उत्तर-पश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका धेरै स्थानहरूमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। यस्तै, मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका धेरै स्थान र सुदूरपश्चिमको तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्छ। कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ। साथै मधेश प्रदेश र कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा हावाहुरी चल्ने अनुमान गरिएको छ।
आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा र कर्णाली तथा सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका धेरै स्थान र सुदूरपश्चिमको तराईका केही स्थानमा मध्यम वर्षा हुनेछ।
रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। विशेष गरी कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागमा हावाहुरीको समेत सम्भावना रहेको छ।


