शिखर जितिन्, अब मन जित्दैछिन् कुञ्जाङ छोपेल शेर्पा

काठमाडौं – सगरमाथाको शिखर चुम्नु आफैंमा ठूलो साहस र उपलब्धि हो। तर आफूले चुमेको शिखरको अनुभवलाई आफ्नै सहकर्मी, युवा, खेलाडी र विद्यार्थीको मनोबल बढाउने शक्तिमा बदल्नु अझ अर्थपूर्ण काम हो। नेपाल प्रहरीकी साहसी आरोही प्रहरी नायव निरीक्षक कुञ्जाङ छोपेल शेर्पाको पछिल्लो सक्रियता यही फरक यात्राको उदाहरण बन्दै गएको छ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने नेपाल प्रहरीकी पहिलो महिला प्रहरी कर्मचारीका रूपमा आफ्नो नाम स्थापित गरेकी शेर्पाले आफ्नो सफलतालाई व्यक्तिगत उपलब्धिमा मात्र सीमित राखेकी छैनन्। हिमालको कठिन यात्रा, जोखिम, अनुशासन, धैर्य, उच्च आत्मबल र चुनौतीसँग जुधेर प्राप्त गरेको अनुभवलाई उनले अहिले अरूको मनोबल बढाउने माध्यम बनाएकी छन्। शिखर चुमेपछि पनि यात्रा सकिँदैन, आफूले पाएको हौसला अरूलाई बाँड्न सक्नु नै अर्को ठूलो उपलब्धि हो भन्ने सन्देश उनको सामाजिक सन्जाल को गतिविधिले दिएको छ।

नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं. १, नक्सालमा तालिमका प्रशिक्षार्थीहरूसँग उनले प्रेरणामूलक अन्तरक्रिया गरिन्। कठिन परिस्थितिमा निर्णय लिनुपर्ने अवस्था, दबाबबीच आत्मबल कायम राख्ने क्षमता, असफलतापछि पनि लक्ष्यबाट विचलित नहुने मानसिकता र सकारात्मक सोचका विषयमा उनले आफ्नै अनुभव सुनाइन्। यो सामान्य उत्प्रेरणात्मक भाषणभन्दा फरक देखियो, किनकि बोल्ने व्यक्ति आफैंले कठिन परिस्थितिको सामना गरेर आफ्नो लक्ष्य हासिल गरेकी प्रहरी कर्मचारी थिइन्।

त्यसैगरी नेपाल प्रहरीको विपद् व्यवस्थापन गुल्म, सामाखुसीमा समेत उनले प्रहरी कर्मचारीसँग अन्तरक्रिया गर्दै जोखिमपूर्ण परिस्थितिमा मानसिक रूपमा बलियो रहनुपर्ने, चुनौतीका बीच जिम्मेवारी पूरा गर्नुपर्ने र कठिन अवस्थालाई अवसरमा बदल्ने सोच विकास गर्नुपर्ने विषयमा अनुभव बाँडिन्। अरूको जीवन बचाउन जोखिममा जाने प्रहरीका लागि शारीरिक तयारी जति आवश्यक छ, मानसिक तयारी पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने व्यवहारिक सन्देश उनको अनुभवबाट आएको देखिन्छ।

भृकुटीमण्डपका नगर प्रहरीका कमान्डर तथा प्रहरी कर्मचारीमाझ पनि उनले आफ्ना अनुभव साटेकी छन्। नेतृत्व भनेको केवल आदेश दिनु होइन, कठिन समयमा आफ्नो टोलीको मनोबल जोगाउनु पनि हो भन्ने पक्षलाई उनले आफ्नै अनुभवसँग जोडिन्। कमान्डरको आत्मबल कमजोर भयो भने टोलीको आत्मबल पनि कमजोर हुन सक्छ, त्यसैले नेतृत्वमा सकारात्मक सोच र मानसिक दृढताको भूमिका महत्वपूर्ण हुन्छ।

२०८२ सालको प्रतिनिधिसभा निर्वाचनका क्रममा काठमाडौं–८ क्षेत्रमा समेत उनले सुरक्षा जिम्मेवारीमा रहेर चुस्त र दुरुस्त रूपमा काम गरेको विवरण छ। निर्वाचनजस्तो संवेदनशील समयमा सुरक्षा व्यवस्थापन गर्नु सामान्य जिम्मेवारी होइन। राजनीतिक गतिविधि, भीड, संवेदनशील परिस्थिति र नागरिकको सुरक्षाबीच संयमित भएर काम गर्नुपर्ने हुन्छ। त्यस्तो जिम्मेवारीमा खटिएर प्राप्त गरेको अनुभव उनको व्यावसायिक यात्राको अर्को महत्वपूर्ण पक्ष बनेको छ। उक्त क्षेत्रमा रास्वपाका विराजभक्त श्रेष्ठ निर्वाचित भएका थिए।

सुकुम्बासी बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा पनि उनले बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राख्दै अग्रभागमा रहेर काम गरेकी थिइन्। सुरक्षा भनेको केवल भीड नियन्त्रण गर्नु वा आदेश कार्यान्वयन गर्नु मात्र होइन, जोखिममा रहेका नागरिकको अवस्था बुझ्नु र विशेषगरी बालबालिका तथा संवेदनशील वर्गको सुरक्षालाई प्राथमिकता दिनु पनि हो भन्ने मानवीय पक्ष उनको कार्यशैलीमा प्रशंसा योग्य देखिन्छ। वर्दीले जिम्मेवारी सिकाउँछ, तर संवेदनशील परिस्थितिले मानवता पनि सम्झाउँछ भन्ने कुरा स्थापित गरेका छन उनले।

कराते खेलाडीहरूसँगको अन्तरक्रियामा उनले संघर्ष, अनुशासन, निरन्तर अभ्यास र लक्ष्यप्रतिको प्रतिबद्धताका विषयमा अनुभव सुनाएकी छन्। खेलमा हार आउँदैमा यात्रा सकिँदैन र जीवनमा असफलता आउँदैमा सपना सकिँदैन भन्ने सन्देश उनले खेलाडीमाझ राखेकी छन्। त्यस्तै साइबर अपराधसम्बन्धी सचेतना कार्यक्रममा सहभागी हुँदै प्रविधिको सुरक्षित प्रयोग र सम्भावित साइबर जोखिमबाट जोगिनुपर्ने आवश्यकताबारे समेत उनले सचेतनामूलक सन्देश दिएकी छन्।

उनको प्रेरणात्मक यात्राको अर्को महत्वपूर्ण अध्याय ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–खिजिफलाटेमा देखिएको छ। सरकारी विद्यालयका कक्षा ९, १०, ११ र १२ का करिब एक हजार विद्यार्थीलाई लक्षित गरी उनले सकारात्मक तथा उत्प्रेरणामूलक कार्यक्रम सञ्चालन गर्न सफल भएकी छन्। किशोरावस्थाका ती विद्यार्थीलाई लक्ष्य निर्धारण, आत्मविश्वास, अनुशासन, सकारात्मक सोच, मेहनत र चुनौतीसँग जुध्ने क्षमताबारे आफ्नै जीवनयात्रासँग जोडेर प्रेरित गरिन्। कहिलेकाहीँ जीवन बदल्न ठूलो भाषण आवश्यक पर्दैन, सही समयमा सुनिएको एउटा साँचो संघर्षको कथा नै कसैको लागि नयाँ सुरुवात बन्न सक्छ बन्ने उदाहरण भएको छ ।

कुञ्जाङ छोपेल शेर्पाको यात्राको सबैभन्दा महत्वपूर्ण पक्ष यही हो,उनले सगरमाथा आरोहणबाट पाएको सफलता आफ्नो नाम र सम्मानमा मात्र सीमित राखिनन्। उनले आफ्नो अनुभवलाई प्रहरी संगठनभित्रैका सहकर्मीको आत्मबल बढाउने माध्यम बनाइन्। प्रहरी निरीक्षक तालिमका प्रशिक्षार्थीदेखि विपद् व्यवस्थापनका प्रहरीसम्म, नगर प्रहरीका कमान्डरदेखि खेलाडी र करिब एक हजार विद्यार्थीसमम्म उनको अनुभव पुगेको छ।

नेपाल प्रहरीमा ‘प्रहरीले प्रहरीलाई नै सकारात्मक प्रभाव पार्ने’ यस्तो अभ्यासले सकारात्मक र अर्थपूर्ण सन्देश दिएको छ।नागरिकलाई सुरक्षा दिने प्रहरीको पनि आफ्नै संघर्ष हुन्छ, दबाब हुन्छ, कहिलेकाहीँ थकान हुन्छ। त्यस्तो अवस्थामा बाहिरबाट आएको भाषणभन्दा आफ्नै संगठनको एक सदस्यले कठिनाइ पार गरेर सफलता हासिल गरेको कथा अझ प्रभावकारी बन्न सक्दो रहेछ। सगरमाथाको शिखर चुम्नु कुञ्जाङको उपलब्धि थियो, तर त्यो शिखरबाट प्राप्त साहस र आत्मबललाई अरूको मनसम्म पुर्‍याउनु उनको यात्राको अर्को उचाइ बनेको छ।

शिखरमा पुगेर रोकिनेहरू धेरै हुन्छन्, तर आफूले चुमेको शिखरको अनुभव अरूलाई पनि माथि उठ्ने हौसला बनाउनेहरू कम हुन्छन्। कुञ्जाङ छोपेल शेर्पाको कथा यही फरक यात्राको कथा हो सगरमाथाको उचाइबाट सुरु भएको यात्रा अहिले हजारौँ मनको आत्मबलसम्म पुगिरहेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु