काठमाडौं। आगामी असोज ९ गतेदेखि हुन सक्ने भारी वर्षा र त्यसबाट सिर्जना हुने सम्भावित जोखिम न्यूनीकरण तथा पूर्वतयारीका सम्बन्धमा सरकारले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूसँग उच्चस्तरीय छलफल गरेको छ।
गृह सचिव केदारनाथ शर्माको प्रमुख आतिथ्यतामा आयोजित उक्त बैठकमा वर्षाको सम्भावित अवस्था, उच्च जोखिमयुक्त क्षेत्रमा अपनाउनुपर्ने सतर्कता, सर्वसाधारणलाई समयमै सूचना पुर्याउने पूर्वसूचना प्रणाली र जोखिमका आधारमा सवारी आवागमन नियन्त्रण वा बन्द गर्नेसम्मका विषयमा विस्तृत छलफल भएको छ।
बैठकमा जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा, तीनवटै सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल), नेपाल पर्यटन बोर्ड र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता थियो। काठमाडौं उपत्यकाबाहेकका जिल्लाका सीडीओहरू भने भर्चुअल माध्यमबाट जोडिएका थिए।
सो अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको उच्च जोखिम रहेका क्षेत्रमा पूर्ण सतर्कता अपनाउन र खोज, उद्धार तथा राहतका लागि सम्बद्ध सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।


