काठमाडौँ – नेपाली कांग्रेसले पार्टी सदस्य बन्नका लागि १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने वैधानिक व्यवस्था रहेको स्पष्ट पारेको छ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको विज्ञप्तिअनुसार नेपाली कांग्रेसको विधान, २०१७ (एघारौं संशोधनसहित) को धारा ४ को उपधारा १ (क) (१) मा पार्टी सदस्यका लागि १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ।
सोही व्यवस्थाअनुसार इलामको माइजोगमाई गाउँपालिका–५ को वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित सुजल चापागाईको जिम्मेवारी स्थगन गरिएको समितिले जनाएको छ। चापागाईले १७ वर्ष उमेर पूरा गरे पनि १८ वर्ष पुग्न केही महिना बाँकी रहेको विवरण प्राप्त भएपछि विधानअनुसार यस्तो निर्णय गरिएको समितिको भनाइ छ।
समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार नागरिकताको विवरणअनुसार चापागाईले आगामी २०८३ माघ १८ गते १८ वर्ष उमेर पूरा गर्नेछन्। त्यसपछि उनले चाहेमा पार्टी सदस्यता कायम गर्न सक्ने स्पष्ट गरिएको छ।
केन्द्रीय निर्वाचन समितिले अन्य जिल्लाका वडा तहका निर्वाचनमा पनि १८ वर्ष उमेर नपुगेका व्यक्ति निर्वाचित भएको पाइएमा उनीहरूको हकमा समेत यही प्रक्रिया लागू हुने जनाएको छ।


