चितवन — नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत भरतपुर महानगरपालिकाको नगर अधिवेशन आज असोज ७ गते हुँदैछ। अधिवेशनको मिति नजिकिएसँगै महानगर सभापति पदका उम्मेदवारहरूबीच चुनावी गतिविधि तीव्र बनेका छन्।
यसैबीच सभापतिका उम्मेदवार बुद्धिकान्त न्यौपानेको पक्षमा पनि माहोल तातिँदै गएको देखिएको छ।
वडा वडा पुग्दा सबै ठाउँमा न्यौपानेको चर्चा सुनिएको छ भने अन्य उम्मेदवारहरुबाट पनि राम्रो साथ पाईराखेका छ्न् ।
न्यौपानेले आफूलाई कांग्रेसका नेता तथा कार्यकर्ताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको बताउँदै आएका छन्।
उनले सबैलाई समेट्ने र पार्टीभित्रको गुट–उपगुटभन्दा माथि उठेर संगठनलाई बलियो बनाउने आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन्।
न्यौपाने हाल नेपाली कांग्रेस भरतपुर महानगरपालिकाका उपसभापति हुन्। पाँच वर्ष महानगर सदस्यका रूपमा काम गरेपछि उपसभापतिको जिम्मेवारीमा पुगेका उनले कार्यवाहक सभापतिको जिम्मेवारीसमेत सम्हाल्दै पार्टीका विभिन्न संगठनात्मक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
महानगर सभापतिमा उम्मेदवारी घोषणा गर्दै न्यौपानेले कांग्रेसलाई एकताबद्ध, बलियो र जीवन्त संगठनका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बालबालिका, युवा, महिला तथा ज्येष्ठ नागरिकका हक, हित र अधिकारका पक्षमा आवाज उठाउने, प्राकृतिक विपद्को पूर्वतयारी तथा समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने र पार्टीभित्र सबै विचार तथा पक्षलाई समेटेर अघि बढ्ने उनको प्राथमिकता रहेको छ।
न्यौपानेले आफ्नो परिवार पुस्तौँदेखि नेपाली कांग्रेस र लोकतन्त्रका लागि समर्पित रहँदै आएको उल्लेख गर्दै आफूले पनि त्यही राजनीतिक निष्ठा, संस्कार र विरासतलाई निरन्तरता दिने बताएका छन्।


