चितवन – नेपाली कांग्रेस क्षेत्र नं. २, चितवनको क्षेत्रीय सभापति पदमा विकास पौडेलले आफ्नो उम्मेदवारी दिएका छन्। विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको संगठनमा सक्रिय रहँदै आएका पौडेलले वडा कार्यसमिति सदस्य हुँदै सचिवको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्।
पौडेलले पार्टीको आदर्श, सिद्धान्त र लोकतान्त्रिक मूल्य–मान्यतालाई आत्मसात् गर्दै नेपाली कांग्रेस क्षेत्र नं. २ को क्षेत्रीय प्रवक्ताको जिम्मेवारीसमेत निर्वाह गर्दै आएको बताएका छन्।
पार्टी र संगठनप्रतिको निष्ठाका क्रममा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट प्राप्त भए पनि गठबन्धनको निर्णयलाई स्वीकार गर्दै पार्टीको हितलाई व्यक्तिगत आकांक्षाभन्दा माथि राखेको उनको भनाइ छ।
पार्टीका लागि आफूले पाएको अवसरसमेत त्यागेर संगठन र सहकार्यलाई प्राथमिकता दिएको उक्त घटनालाई उनले आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण अध्यायका रूपमा उल्लेख गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको संघारमा क्षेत्रीय अधिवेशनमार्फत आफूले क्षेत्रीय सभापति पदमा उम्मेदवारी अघि सारेको पौडेलले बताएका छन्। संगठनलाई थप एकताबद्ध, ऊर्जाशील, गतिशील, जिम्मेवार र कार्यकर्तामैत्री बनाउने उद्देश्यले उम्मेदवारी दिएको उनको भनाइ छ।
विगतमा प्राप्त जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गरेझैँ आगामी दिनमा पनि सबैको सुझाव, साथ र सहयोगलाई आत्मसात् गर्दै संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता पौडेलले व्यक्त गरेका छन्।
क्षेत्र नं. २ अन्तर्गतका क्रियाशील सदस्य, पार्टीका नेता–कार्यकर्ता तथा २८ वटै वडाबाट छनोट भएर आउने क्षेत्रीय प्रतिनिधिहरूसँग समर्थनको आग्रह गर्दै पौडेलले आफ्नो उम्मेदवारीलाई संगठनमा नयाँ ऊर्जा र नयाँ गतिलाई संस्थागत गर्ने अभियानका रूपमा अघि बढाएको बताएका छन्।


