रसुवा – रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा भदौ १० गतेको विनाशकारी बाढीका कारण हालसम्म ३९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
४३९ जना अझै सम्पर्कविहीन रहेका छन्। भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले आयोजनास्थलमा व्यापक क्षति पुर्याएपछि जारी खोज तथा उद्धारका क्रममा यति ठूलो संख्यामा मानवीय क्षति भएको विवरण सार्वजनिक भएको हो।
आयोजनाको प्रवर्द्धक कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिले सोमबार जारी गरेको विज्ञप्तिमा बाढी आएको समयमा कार्यस्थलमा परामर्शदाता, मुख्य निर्माण व्यवसायी र सब-कन्ट्रयाक्टर अन्तर्गतका नेपाली, कोरियाली, चिनियाँ र भारतीयसहित करिब १ हजार ४३३ जना जनशक्ति कार्यरत रहेको उल्लेख छ ।
तीमध्ये हालसम्म ८७७ जनाको सकुशल उद्धार गरिएको छ भने ७८ जना सम्पर्कमा आइसकेका छन्। बाँकी सम्पर्कविहीन रहेका ४३९ जनाको खोजी कार्य निरन्तर जारी छ।


