चितवन – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा चितवन क्षेत्र नम्बर २ बाट क्षेत्रीय सचिव पदका लागि कृष्णप्रसाद बगालेले उम्मेदवारी घोषणा गरेका छन्।
बगाले भरतपुर महानगरपालिका–११ बाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन्। लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय बगालेले २०५७ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को सदस्य हुँदै आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए।
सप्तगण्डकी क्याम्पसको नेविसंघ उपसभापति हुँदै सभापतिको जिम्मेवारी सम्हालेका बगालेले भरतपुर महानगरपालिका–११ को टोल इकाइ सभापतिको भूमिकासमेत निर्वाह गरेका छन्। हाल उनी भरतपुर महानगरपालिका नेपाली कांग्रेसका सचिवका रूपमा कार्यरत छन्।
पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउँदै वडा तथा गाउँको विकास र परिवर्तनका लागि आफूले सक्दो पहल गर्ने बगालेले बताएका छन्। पार्टीभित्र लोकतान्त्रिक मूल्य, राष्ट्रियता र समाजवादका आदर्शलाई आत्मसात् गर्दै संगठनलाई जनमुखी बनाउने उनको प्रतिबद्धता छ।
बगालेले पार्टीका नेता तथा कार्यकर्ताबीच आपसी सहकार्य र समन्वयलाई प्राथमिकता दिँदै संगठनलाई थप मजबुत बनाउन आफूले भूमिका निर्वाह गर्ने बताएका छन्।


