बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको गतिविधि बढ्न सक्ने केही मौसमविद्हरूले पूर्वानुमान गरेका छन् । केही स्थानमा अत्यधिक वर्षा हुन सक्ने भन्दै उनीहरूले पूर्वतयारी र सतर्कतामा जोड दिएका छन् ।
त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलले विभिन्न पूर्वानुमान मोडेलको अध्ययनबाट ८-१२ असोजसम्म देशभर वर्षा हुने सम्भावना देखिएको बताएका छन् ।
उनले केही मोडेलले उक्त अवधिमा ४०० मिलिमिटरभन्दा बढी र कतिपय अवस्थामा ७४१ मिलिमिटरसम्म वर्षा हुन सक्ने देखाएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । यद्यपि यस्तो वर्षा देशभर समान रूपमा नभई निश्चित स्थानमा बढी केन्द्रित हुन सक्ने उनको अनुमान छ ।
‘धेरैवटा फोरकास्ट मोडेल हेरेर मात्र यो पूर्वानुमान सार्वजनिक गरेको हुँ,’ पोखरेलले लेखेका छन्, ‘डर देखाउन होइन, यो सबै तयारी चाँडो गर्न मद्दत होस् भनेर राखेको हो ।’


