चितवनका बोर्लाङवासीलाई संगठित गर्दै बोर्लाङ(गोरखा)–चितवन समाज गठन, अध्यक्षमा सुनिल श्रेष्ठ

एटुजेड समाचार

रत्ननगर – चितवनमा बसोबास गर्दै आएका बोर्लाङवासीलाई संगठित गर्दै सामाजिक सेवा, आपसी सहयोग तथा बोर्लाङको ऐतिहासिक र सांस्कृतिक पहिचान संरक्षण गर्ने उद्देश्यले बोर्लाङ (गोरखा) चितवन समाज गठन गरिएको छ।

शनिबार रत्ननगर-१२ स्थित जमुनापुर हेल्थ सोसाइटीमा आयोजित विशेष भेलाले सुनिल श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको हो। भेलामा चितवनमा बसोबास गर्दै आएका बोर्लाङवासीको उल्लेख्य सहभागिता रहेको थियो।

समितिको उपाध्यक्षमा गणेश ढकाल र सरिता भट्ट, सचिवमा राजन गोतामे, सहसचिवमा अञ्जु पाण्डे तथा कोषाध्यक्षमा रञ्जित श्रेष्ठ चयन भएका छन्। त्यस्तै,सदस्यहरुमा सन्दीप पौडेल, कपिल श्रेष्ठ, कृष्णबहादुर नेपाली, रोशन पाण्डे, रेशम श्रेष्ठ, दिपक पौडेल, ईश्वरप्रसाद ढकाल, सन्तोष ढकाल र संगीता श्रेष्ठ रहेका छन्।

ज्येष्ठ नागरीक हेम बहादुर श्रेष्ठको अध्यक्षता रहेको सो भेलाले बोर्लाङवासीबीच आपसी सहयोग र सद्भाव बढाउँदै शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा अन्य सामाजिक क्षेत्रमा सामूहिक रूपमा काम गर्ने निर्णय गरेको छ।

साथै,आवश्यकता परेका बेला समुदायका सदस्यलाई सहयोग गर्ने तथा विभिन्न सामाजिक र रचनात्मक कार्यक्रम सञ्चालन गर्ने समाजको योजना रहेको छ ।

समाजको सल्लाहकार समितिको संयोजकमा हेमबहादुर श्रेष्ठ चयन भएका छन्। सल्लाहकार सदस्यमा साधुराम थापा, अर्जुन ढकाल, भरत श्रेष्ठ, धर्म ढकाल, भरत पाण्डे, सूर्य गुरुङ, केशव भट्ट र राजन भट्ट रहेका छन्।

उक्त भेलामा बोर्लाङसँग जोडिएको ऐतिहासिक, सांस्कृतिक तथा पुर्ख्यौली सम्बन्धबारे पनि छलफल गरिएको थियो।

सो कार्यक्रम केशव भट्टले संचालन गरेका थिए।

बोर्लाङलाई नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको जन्मभूमिका रूपमा चिनिन्छ। बोर्लाङसँग विद्वान तथा ज्योतिष कुलानन्द ढकालको ऐतिहासिक सम्बन्धसमेत रहेको भेलामा उल्लेख गरिएको थियो।

नवगठित समाजले चितवनमा रहेका बोर्लाङवासीलाई संस्थागत रूपमा जोड्दै साझा हितका कार्यक्रम अघि बढाउने बताएको छ। समाजले बोर्लाङको इतिहास, पहिचान र संस्कृतिको संरक्षणसँगै सामाजिक सेवाका क्षेत्रमा योगदान गर्ने लक्ष्य लिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु