काठमाडौं। नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा आफ्ना प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि विशेष ‘संविधान दिवस अफर २०८३’ ल्याएको छ। यस अफरअन्तर्गत टेलिकमले ‘अनलिमिटेड लाइट’ र ‘अनलिमिटेड प्रो’ गरी दुई प्रकारका आकर्षक डेटा प्याकेज उपलब्ध गराएको छ।
कम्पनीका अनुसार अफरअन्तर्गत ४९९ रुपैयाँ (करसहित) मा ‘अनलिमिटेड लाइट ४९९’ प्याकेज प्राप्त गर्न सकिनेछ, जसअन्तर्गत ३० दिनसम्म दैनिक ५ जीबी डेटा उपलब्ध हुनेछ। दैनिक ५ जीबीको सीमा सकिएपछि पनि बाँकी समय २ एमबीपीएसको गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने सुविधा छ।
त्यस्तै, धेरै डेटा प्रयोग गर्ने ग्राहकका लागि ६९९ रुपैयाँ (करसहित) मा ‘अनलिमिटेड प्रो ६९९’ प्याकेज ल्याइएको छ। यसमा ३० दिनसम्म दैनिक १० जीबी डेटा पाइनेछ र उक्त सीमा सकिएपछि ३ एमबीपीएस (3 Mbps) को स्पीडमा अनलिमिटेड डेटा चल्नेछ। पोस्टपेड प्रयोगकर्ताका लागि रेन्टल चार्जसमेत यसै प्याकेजमा समावेश गरिएको टेलिकमले जनाएको छ।
यो अफर २०८३ असोज २ गतेदेखि असोज ४ गतेसम्म (तीन दिन) मात्र उपलब्ध हुनेछ। अफर खरिद गर्नका लागि ग्राहकले आफ्नो मोबाइलबाट *1415*11# डायल गर्न वा नेपाल टेलिकमको एप प्रयोग गर्न सक्नेछन्।


