धनगढी । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा कार्यरत सुदूरपश्चिमका ७१ जना सम्पर्कमा आएका छन् । यद्यपि, प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रको अभिलेखअनुसार अझै १४३ जना सम्पर्कविहीन छन् ।
गत भदौ १० गते आएको बाढीपछि सुदूरपश्चिमका विभिन्न जिल्लामा स्थायी घर ठेगाना भएका, तर रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र तनहुँमा कार्यरत व्यक्तिहरू सम्पर्कविहीन भएको भन्दै उनीहरूका परिवार तथा आफन्तले आपत्कालीन कार्यसञ्चालन केन्द्रमा गुनासो दर्ता गराएका थिए ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् शाखा प्रमुख जनक धामीका अनुसार सम्पर्कविहीन भएकामध्ये हालसम्म ७१ जना सम्पर्कमा आएका छन् । सम्पर्कमा आउनेमा ११ महिला र ६० पुरुष रहेका छन् । अझै सम्पर्कविहीन रहेकामा १३ महिला र १३० पुरुष छन् । बाढीका कारण सुदूरपश्चिमका एक जनाको मृत्यु भएको पनि अभिलेखमा उल्लेख छ ।
जिल्लागत विवरणअनुसार कैलालीका सबैभन्दा धेरै ६७ जना अझै सम्पर्कविहीन छन् भने ५३ जना सम्पर्कमा आएका छन् । यस्तै, कञ्चनपुरका २६ जना सम्पर्कविहीन र ११ जना सम्पर्कमा आएका छन् । डडेल्धुराका १७ जना सम्पर्कविहीन तथा ६ जना सम्पर्कमा आएका छन् भने डोटीका दुई जना सम्पर्कविहीन र एक जना सम्पर्कमा आएका छन् ।
यसैगरी, बाजुराका १६, बैतडीका सात, दार्चुलाका चार, बझाङका दुई र अछामका दुई जना अझै सम्पर्कविहीन रहेको प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । बैतडीका एक जनाको भने बाढीमा परी मृत्यु भएको र शव बुझेर अन्त्येष्टिसमेत गरिसकिएको अभिलेखमा उल्लेख छ ।
बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको अवस्था यकिन गर्न परिवार तथा आफन्तले खोजी र उद्धार कार्यलाई प्रभावकारी बनाउन माग गर्दै आएका छन् । उनीहरूले आपत्कालीन कार्यसञ्चालन केन्द्रमार्फत सम्बन्धित निकायलाई सम्पर्कविहीनहरूको खोजी तीव्र बनाउन आग्रह गरिरहेका छन् ।


