आज देशभर वर्षा, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

एटुजेड समाचार

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ।

यसकै प्रभावका कारण कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने तराईका भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। अहिले कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थान तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

त्यस्तै, देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित वर्षा र हिमपातको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश, कोशी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा वर्षा हुनसक्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज राति पनि देशभर साधारणतया बदली नै रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

यसैगरी तराई भूभागका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहनुका साथै रातिको समयमा कोशी प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु