धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।
मिलनचोकमा बाटो पार गर्ने क्रममा धनगढी उपमहानगरपालिका–२ आदर्श टोलका १८ वर्षीय अङ्कित गुप्ताले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००२ स ६११ नम्बरको अटोरिक्साले चौराहाबाट भन्सारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००८ प ५९५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार कञ्चनपुरको पुनर्वास नगरपालिका–८ ‘क’ गाउँका १४ वर्षीय क्रिस गोतामेको मृत्यु भएको छ।
दुर्घटनामा मोटरसाइकल चालक कैलालीको घोडाघोडी नगरपालिका–८ का २२ वर्षीय दिनेश थापा घाइते भएका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


