काठमाडौँ – चिलिमे जलविद्युत्त आयोजनाको सुरुङभित्र ठुला ढुङ्गा भेटिएको छ । हेभी इक्विपमेन्टले सुरुङभित्र डेब्रिट हटाउँदै जाँदा ठुला ढुङ्गा भेटिएको सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले रातोपाटीलाई बताए ।
ठुला उपकरणले सुरुङको मुखबाट ९० मिटर भित्रसम्मको गेग्रान हटाएको छ । अहिले सुरुङभित्र एउटा स्काभेटर र एउटा लोडरले काम गरिरहेको छ । सैनिक प्रवक्ता बस्नेत भन्छन्– ‘सुरुङको ठुलो ढुङ्गाहरू हटाएर सुरुङ साँघुरिएको भागसम्म ठुला उपकरणले खन्ने काम भइरहेको छ ।’
सेनाले स्याफ्रुवेशीदेखि टनेलसम्म १ हजार ५० मिटर बाटो बनाएर ठुला उपकरण लगेको हो । उद्धारकर्मीहरूले ४ वटा ठुला पाइप प्रयोग गरेर टनेलभित्र हिँड्न मिल्ने बाटो बनाएर ठुला उपकरण नपुगेको ठाउँमा पनि खोजी गरिरहेका छन् । चिलिमेमा सेना, सशस्त्र प्रहरी र भारतीय विशेषज्ञहरू खटिएका छन् । उद्धारकर्मीहरूले भूमिगत विद्युत्तगृह नजिकै खोजी कार्य जारी राखेका छन् ।
सुरुङ साँघुरिएको स्थानको करिब १२० मिटर भित्रबाट आवाज पठाउँदा त्यसको इको सुनिएको हुनाले सुरुङमा फसेकाहरूको सकुशल उद्धार हुनसक्ने पूर्व उर्जामन्त्री कुलमान घिसिङले बताएका छन् ।सुरुङ साँघुरिएको भागमा ठुलो ढुङ्गा गएर अड्किएको हुनाले त्यसलाई पन्छाउने प्रयास भइरहेको सैनिक अधिकृतहरू बताउँछन् । २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाको सुरुङमा ८ जना फसेको आकलन गरिएको छ ।


