चितवन – भरतपुर महानगरपालिका–९ बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा विद्युतीय (EV) कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ ।
आज बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको EV कारमा अचानक आगलागी भएको हो।
आगलागीको जानकारी प्राप्त हुनासाथ घटनास्थलमा खटिएको प्रहरीको टोलिले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार कारका चालक जलेर मृत अवस्थामा फेला परेका थिए।
मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन । आगलागीका कारण कारसमेत पूर्णरूपमा जलेर क्षति भएको प्रहरीले जनाएको छ।


