रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परेर लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २४८ जना अझै सम्पर्कमा आउन सकेका छैनन् ।
मंगलबारसम्मको विवरणअनुसार प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै बर्दियाका ७६ जना सम्पर्कविहीन रहेको लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयमा रहेको आपतकालिन कार्यसञ्चालन केन्द्रले जानकारी दिएको छ ।
त्यसपछि दाङका ५४ जना, बाँकेका २३ जना, रोल्पाका २४ जना, रुपन्देहीका १९ जना, पाल्पाका ९ जना, प्युठानका ९ जना, नवलपरासी पश्चिमका ९ जना, अर्घाखाँचीका ८ जना, गुल्मीका ७ जना, कपिलवस्तुका ६ जना र रुकुम पूर्वका ४ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । लुम्बिनीबाट रसुवा पुगेका नागरिकमध्ये धेरै जलविद्युत् आयोजना तथा निर्माण क्षेत्रमा कार्यरत रहेको देखिन्छ । सम्पर्कविहीन हुनेहरूमा टिमुरे भन्सार नाका, ठूला लगानीका जल विद्युत् आयोजनामा काम गर्ने दक्ष प्राविधिक, कर्मचारी र कामदारदेखि मानसरोवर र गोसाँइकुण्ड घुम्न गएकाहरू पनि छन् ।
यस्तैगरी, बाढीपछि नवलपरासी पश्चिममा १५८ वटा शव फेला परेका छन् । फेला परेका शवमध्ये ५२ जना महिला, ९० जना पुरुष, ६ जना बालक, ६ जना बालिका र ४ जनाको लिङ्ग पहिचान हुन सकेको छैन । यसबाहेक ६४ वटा शरीरका अंगसमेत फेला परेका छन् । शरीरका अंगसहित नवलपरासी पश्चिममा फेला परेका शव तथा अंगको कुल संख्या २२२ पुगेको छ ।
फेला परेका शवमध्ये ९ जनाको सनाखत भएको छ । सनाखत भएकामा एक महिला र आठ पुरुष रहेका छन् । बाँकी १४९ शव तथा शरीरका अंगमध्ये १४२ शव र ६४ वटा शरीरका अंग व्यवस्थापन गरिएको विवरणमा उल्लेख छ । कुल २१३ शव तथा शरीरका अंग व्यवस्थापन गरिएको जनाइएको छ । बाढीपछि सम्पर्कविहीन भएका तथा फेला परेका शवको खोजी, पहिचान र व्यवस्थापन कार्य अझै जारी रहेको छ ।


