कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ?

एटुजेड समाचार

काठमाडौं । रसुवालगायत बाढीपहिरो प्रभावित क्षेत्रमा लामो समयदेखि बेपत्ता रहेका व्यक्तिहरूको अवस्था अझै यकिन हुन नसकिरहेका बेला कतिपय परिवारले कुशको प्रतिमा बनाएर अन्त्येष्टि तथा काजकिरिया गरिरहेका छन् ।

आफन्तको अवस्था थाहा नभएपछि धार्मिक संस्कार पूरा गर्नुपर्ने बाध्यतामा परिवारहरू यस्तो विधितर्फ अघि बढिरहेका हुन् । तर, प्राकृतिक विपत्तिका कारण बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेकै अवस्थामा कुशको प्रतिमा बनाएर अन्त्येष्टि गर्न हतार गर्न नहुने ज्योतिष तथा पण्डित बालकृष्ण आचार्यको धारणा छ ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा आचार्यले धर्मशास्त्रमा बेपत्ता व्यक्तिको अवस्थाका आधारमा कुशको प्रतिमा बनाएर अन्त्येष्टि गर्ने विधि उल्लेख भए पनि प्राकृतिक विपत्तिको अहिलेको अवस्थामा परिवारले तत्कालै आत्तिएर यस्तो निर्णय गर्न नहुने बताए।

उनले भने,‘यस्ता प्राकृतिक विपत्तिहरूलाई फरक तरिकाले सोच्नुपर्छ । यति चाँडै नआत्तिनुपर्ने हो । कतिपयले आत्तिएर छिटो गर्नुभएको हो कि जस्तो पनि देखिन्छ। यसमा यति चाँडै आत्तिनुपर्ने अवस्था होइन ।’

उनका अनुसार धर्मशास्त्रीय मान्यतामा कुनै व्यक्ति हराएमा वा लामो समयसम्म सम्पर्कमा नआएमा निश्चित अवस्थापछि कुशको प्रतिमा बनाएर त्यसलाई जौंको पिठोले लेपन गरी मानव शरीरको स्वरूप दिएर अन्त्येष्टि गर्ने विधि उल्लेख छ। यस्तो विधिमा वेदका मन्त्र तथा ऋचामार्फत सम्बन्धित व्यक्तिको नाम र गोत्रअनुसार आह्वान गरी कर्म गरिने उनले बताए।

तर अहिलेको अवस्थामा खोजी तथा उद्धार कार्य चलिरहेकाले बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्नुअघि पर्याप्त समय पर्खनुपर्ने उनको सुझाव छ। उनले सरकारले खोजी कार्य सकिएको घोषणा नगरेसम्म परिवारले धैर्य गर्नुपर्ने बताए।

आचार्यले भने,‘सरकारले विभिन्न स्रोत–साधनहरू प्रयोग गरेर जीवित मान्छेहरू भेटाइरहेको छ । खोज अनुसन्धान सकियो भनेर घोषणा नगरेसम्म पर्खिनु नै उपयुक्त हुन्छ जस्तो लाग्छ । ’

उनले विपत्तिपछि पनि कठिन अवस्थामा लामो समयसम्म मानिस जीवित रहेको उदाहरण देखिएकाले बेपत्ता व्यक्तिका परिवारले तत्कालै आशा मार्न नहुने बताए।

कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरिसकेपछि सम्बन्धित व्यक्ति जीवितै भेटिएमा के गर्ने भन्ने विषयमा पनि धर्मशास्त्रमा छुट्टै विधि रहेको आचार्यले बताए ।

उनका अनुसार यस्तो अवस्थामा पहिले गरिएको कर्मलाई प्रायश्चितका रूपमा ‘गौदान’ गरेर रोक्ने र जीवित व्यक्ति भेटिएपछि धार्मिक विधिअनुसार थप संस्कार गर्नुपर्ने हुन्छ ।

त्यसपछि सम्बन्धित व्यक्तिको अवस्था हेरेर ‘घृतकुम्भ’सम्बन्धी विधि अपनाउने उल्लेख रहेको उनले बताए। जीवित भेटिएको व्यक्तिलाई घिउको घडामा घाँटीसम्म राखेर निकाल्ने, स्नान गराउने र पुनर्जन्मको प्रतीकात्मक संस्कार गर्ने विधि रहेको आचार्यको भनाइ छ । त्यसपछि न्वारानदेखि विवाहसम्मका आवश्यक संस्कार पुनः गरिने धार्मिक मान्यता रहेको उनको भनाई छ ।

आचार्यका अनुसार कुशलाई धार्मिक कर्ममा विशेष महत्त्व दिइन्छ। विभिन्न पौराणिक कथामा कुशको उत्पत्तिबारे फरक–फरक प्रसङ्ग उल्लेख भए पनि भगवान् विष्णुसँग यसको सम्बन्ध रहेको धार्मिक मान्यता रहीआएको उनले जानकारी दिए ।

धार्मिक कर्ममा कुशलाई भगवानसँग जोड्ने माध्यमका रूपमा समेत लिइने उनको भनाइ छ । त्यसैले कुश नै प्रयोग बनाएर शवको रुपमा अन्त्येष्टि गरिने प्रचलन रहिआएको उनले बताए ।

यस्तै, प्राकृतिक विपत्तिमा घरबार तथा आवश्यक सामग्रीसमेत गुमाएका परिवारले धार्मिक संस्कार गर्न कठिनाइ भए उपलब्ध स्रोतअनुसार सरल विधिबाट कर्म गर्न सकिने उनले बताए । आवश्यक सामग्री जुटाउन नसक्ने अवस्थामा वैकल्पिक धार्मिक विधि अपनाउन सकिने उनको भनाइ छ ।

तर अहिलेको मुख्य प्राथमिकता भने बेपत्ता व्यक्तिको खोजी र पहिचान हुनुपर्ने आचार्यले बताए । उनका अनुसार शव भेटिएपछि समेत डीएनएलगायतका माध्यमबाट पहिचान प्रक्रिया पूरा हुन समय लाग्नसक्ने भएकाले हतारमा धार्मिक संस्कार पूरा गर्ने निर्णय गर्दा पछि थप जटिलता आउनसक्छ ।

यदि कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरिसकेपछि सम्बन्धित व्यक्तिको शव भेटिएमा पनि धर्मशास्त्रमा त्यसका लागि विधि रहेको उनले बताए ।

यस्तो अवस्थामा शवको दाहसंस्कार गर्नुपर्ने र पहिले नै कर्म भइसकेको भए निश्चित अवधिको जुठो बार्नेलगायतका प्रक्रिया अपनाइने उनको भनाइ छ ।

आचार्यले बेपत्ता परिवारको पीडा र धार्मिक भावनालाई ध्यानमा राख्दै निर्णय गर्दा सम्बन्धित पण्डित तथा गुरुहरूसँग परामर्श गर्नुपर्नेमा पनि जोड दिए ।

धर्मशास्त्रीय मान्यताअनुसार यस्तो कर्म व्यक्तिगत रूपमा मात्र निर्णय गरेर नभई परिवार, समाज तथा गुरु–पण्डितको राय–सल्लाह लिएर गर्नुपर्ने उनले बताए।

उनको अनुसार धर्मशास्त्रमा उल्लेख भएअनुसार कोही व्यक्ति हराउँदा, लुप्त हुँदा, र धेरै लामो समयसम्म व्यक्तिको खोजी नहुँदाखेरि उसको उमेरको हिसाबले एकसय वर्ष पूरा हुने बेलासम्म पर्खिनुपर्ने हुन्छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु