इनरुवा। निरन्तर भइरहेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ। आइतबार राति ८:१५ बजेको मापन अनुसार कोशी ब्यारेजमा पानीको बहाव दुई लाख २० हजार क्युसेक प्रतिसेकेन्ड पुगेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।
पानीको बहाव बढेसँगै सम्भावित जोखिमलाई ध्यानमा राखेर कोशी ब्यारेजका मूल ५२ र ४ वटा नहरका गरी कुल ५६ ढोकामध्ये २७ वटा ढोका खोलिएका छन्। बहाव खतराको तहमा पुगेपछि ब्यारेजमा सतर्कता अपनाउन रातो बत्ती बालिएको छ भने रातो झण्डा समेत फहराइएको छ।
नदीको सतह र बहावको अवस्थाबारे जिल्ला प्रहरी कार्यालय सुनसरीले निरन्तर निगरानी गरिरहेको जनाएको छ। सप्तकोशीमा पानीको सतह अझै बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले तटीय तथा आसपासका जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता र सावधानी अपनाउन आग्रह गरेको छ।


