काठमाडौं। देशमा हाल मनसुनी वायुको प्रभाव कायम रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यसैगरी, सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका पनि केही स्थानमा भारी वर्षा हुन सक्नेछ।
आगामी दुई दिन अर्थात् सोमबार र मंगलबार पनि देशभर मौसम साधारणतया बदली रहनेछ। सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग, तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
त्यसैगरी, मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा भारी वर्षा हुनेछ।


