बाढीमा बगेर आएका माछा नखानू, महामारी फैलिन सक्छ : प्रहरी

एटुजेड समाचार

चितवन – नेपाल प्रहरीले रसुवाको भोटेकोशी तथा आसपासका नदीहरूमा तैरिएर आएका माछा र नदीको पानी प्रयोग नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

बाढीसँगै मानव शव, मृत जीवजनावर तथा विभिन्न फोहोरजन्य पदार्थ नदीमा मिसिएकाले नदीको पानी र जलचरहरू दूषित भएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार यस्तो दूषित पानीमा हानिकारक तथा घातक कीटाणु हुन सक्ने भएकाले नदीमा तैरिएर आएका माछा तथा अन्य जलचर पनि संक्रमित हुन सक्छन्।

त्यसैले सुरक्षाकर्मीहरूले प्रभावित क्षेत्रमा माइकिङ गर्दै नदी किनारबाट माछा नसमात्न, घर नलैजान र कुनै पनि अवस्थामा नखान सर्वसाधारणलाई सचेत गराइरहेका छन्।

दूषित पानी तथा कीटाणुयुक्त खाद्यपदार्थको प्रयोगले हैजा, झाडापखाला, छालामा संक्रमणलगायतका संक्रामक रोग फैलिन सक्ने जोखिम रहेको प्रहरीले जनाएको छ।

विशेषगरी बाढी प्रभावित क्षेत्रमा अहिले पानी र खाद्यपदार्थको प्रयोग गर्दा थप सावधानी अपनाउन आवश्यक देखिएको छ।

त्यसैले नदीमा बाढीले बगाएर ल्याएको माछा देख्नुभयो भने समातेर घर लैजाने वा खाने गल्ती नगर्नुहोस्।अहिलेको अवस्थामा सावधानी नै संक्रमण र महामारीबाट बच्ने सबैभन्दा महत्वपूर्ण उपाय हो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु