काठमाडौं – बाढी प्रभावित बालबालिकाको फोटो र भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न अपिल गरिएको छ।भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको फोटो तथा भिडियो सामाजिक सञ्जाल र सञ्चार माध्यममा सार्वजनिक नगर्न राष्ट्रिय बाल अधिकार परिषद्ले आग्रह गरेको हो।
परिषद्का अधिकृत तथा सूचना अधिकारी रामबहादुर चन्दले विज्ञप्ति जारी गर्दै उद्धार, राहत तथा सहयोग उपलब्ध गराइरहेका दृश्यहरू समेत सामाजिक सञ्जालमा पोस्ट नगर्न ध्यानाकर्षण गराएका छन्।
फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम, भाइबर, ह्वाट्सएप लगायत कुनै पनि सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा यस्ता सामग्री सार्वजनिक नगर्न परिषद्ले अनुरोध गरेको छ।
परिषद्का अनुसार बालबालिकाको गोपनीयता, सम्मान र मर्यादाको संरक्षण गर्नु सबै व्यक्ति तथा संस्थाको कर्तव्य हो।त्यसैले विपद्मा परेका बालबालिकाको फोटो–भिडियो पोस्ट गर्नुअघि होइन, उनीहरूको गोपनीयता र सुरक्षालाई पहिलो प्राथमिकता दिन परिषद्को अपिल छ।


