बाढीले बगाएर ल्याएका काठ–दाउरा संकलन नगर्न डिभिजन वन कार्यालय चितवनको आग्रह

एटुजेड समाचार

चितवन — रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा आएको विनाशकारी बाढीका कारण बगाएर ल्याइएका गोलिया काठ, दाउरा तथा अन्य काठजन्य वन पैदावार जथाभावी संकलन, ओसारपसार तथा बिक्री–वितरण नगर्न डिभिजन वन कार्यालय चितवनले आग्रह गरेको छ।

कार्यालयका अनुसार बाढीले बगाएर ल्याएका काठ तथा दाउरा नारायणी नदी र नदी किनारका विभिन्न स्थानमा थुप्रिएको अवस्थामा छन्। विशेषगरी देवघाट क्षेत्र, भरतपुर महानगरपालिका–३ आसपास तथा नारायणी, सामुदायिक वन क्षेत्रमा समेत बाढीले बगाएर ल्याएका काठहरू रहेको कार्यालयले जनाएको छ।

नदीमा बगेर आएका काठ तथा दाउरा जोखिमयुक्त स्थानमा रहेको र जुनसुकै समयमा पुनः बाढी आउन सक्ने भएकाले सर्वसाधारणलाई नदी वा नदी किनारमा प्रवेश गरी काठ निकाल्ने, काट्ने, उठाउने, ओसारपसार गर्ने, बिक्री–वितरण गर्ने वा आफ्नो स्वामित्वमा लिने कार्य नगर्न कार्यालयले सचेत गराएको छ।

त्यस्तै, बाढीले बगाएर ल्याएका काठ–दाउरा आफूखुसी संकलन, चोरी, निकासी वा अन्य प्रयोजनमा प्रयोग गरेको पाइएमा प्रचलित वन ऐन, २०७६, वन नियमावली, २०७९ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही गरिने डिभिजन वन कार्यालय चितवनले जनाएको छ।

कार्यालयले बाढीपछि नदी तथा नदी किनारमा थुप्रिएका काठका कारण मानव बस्ती, पुल, सडक तथा अन्य संरचनामा समेत जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेको छ।

बाढीले बगाएर ल्याएका काठ–दाउराको पहिचान, लगत संकलन, नापजाँच, सुरक्षित संकलन तथा व्यवस्थापन डिभिजन वन कार्यालयबाट प्रचलित कानुनअनुसार गरिने जनाइएको छ।

कुनै स्थानमा बाढीले बगाएर ल्याएका काठ–दाउरा फेला परेमा आफूखुसी उठाउनुको सट्टा नजिकको वन कार्यालयका कर्मचारी वा सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहलाई जानकारी गराई सहयोग गर्न कार्यालयले सबैमा अनुरोध गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु