बाढी प्रभावित क्षेत्रमा चितवनका खेलकुद संघ संस्थाले दुई लाख बढीको सहयोग गर्ने

एटुजेड समाचार

चितवन –  चितवनका खेलकुद संघ संस्थाले नुवाकोट र रसुवाको बाढी प्रभावित क्षेत्रमा दुई लाख बढीको सहयोग गर्ने भएको छ ।

चितवन जिल्ला खेलकुद बिकास समितिले बाढी प्रभावित क्षेत्रमा राहतका लागि सहयोग गर्न जिल्लाका सबै खेलकुद संघ संस्थालाई अपिल गरेको थियो । समितिको अपिलपछि विभिन्न खेलकुद संघ संस्थाबाट २ लाख ७ हजार १६० रुपैयाँ संकलन भएको छ । यसबाट प्रभावित क्षेत्रमा ट्र्याकसुटलगायतका लत्ता कपडा सहयोग गर्ने निर्णय भएको समितिका अध्यक्ष राजन कार्कीले बताए ।

प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको कुराकानीपछि त्यस क्षेत्रमा तत्कालका लागि लत्ताकपडा सहयोग गर्न सुझाव प्राप्त भएकोले सो रकम बराबरको ट्र्याकसुटलगायतका लत्ता कपडा सहयोग गर्न लागिएको उनले बताए । प्रभावित क्षेत्र पुगेर आवश्यक लत्ता कपडालगायतका राहत सामग्री वितरण गरिने समितिका कार्यालय प्रमुख रामजी ढकालले बताए ।

यसका लागि समितिले ५० हजार रुपैयाँ सहयोग गरेको छ । चितवन जिल्ला ब्याड्मिन्टन संघले २९ हजार ५ रुपैयाँ, तेकवान्दो संघले २५ हजार, तेकवान्दो संघकै अध्यक्ष शैलेश श्रेष्ठले जन्मदिनको अवसरमा व्यक्तिगत रुपमा ५ हजार, क्रिकेट संघ र भलिवल संघले २०-२० हजार तथा एथ्लेटिक्स संघले १८ हजार रुपैयाँ सहयोग गरेका छन् ।

यस्तै मुवाथाई संघले १५ हजार १५५, कबड्डी संघ र सितोरियो कराते संघले १०-१० हजार तथा सितोरियो सोवुकान कराते संघले ५ हजार रुपैयाँ सहयोग गरेका छन् । राहत लिएर प्रभावित क्षेत्रसम्म पुग्नका लागि बागमती प्रदेश खेलकुद बिकास परिषद्का सदस्य कृष्णबहादुर नेपाल सुजनले यातायात व्यवस्थापन गर्ने भएका छन् ।

प्रभावित क्षेत्रमा अहिले अन्य सहयोग भन्दा लत्ताकपडा आवश्यक देखिएकोले आज सबै संघ संस्थाको संयुक्त बैठक बसी लत्ताकपडा सहयोग गर्ने निर्णय गरिएको समितिका अध्यक्ष कार्कीले बताए । विपद्को समयमा मानवीय संवेदना र एकता नै सबैभन्दा ठूलो शक्ति भएकाले चितवनका खेलकुद क्षेत्रबाट सहयोग गर्न लागिएको उनको भनाइ छ । उनले समितिको अपिलपछि हातेमालो गर्ने सबै संघ संस्थालाई धन्यवाद व्यक्त गरेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु