झापा — सामाजिक सेवाको नाममा कार्यक्रम गर्ने, केही तस्बिर खिच्ने र सामाजिक सञ्जालमा गतिविधि देखाउने प्रवृत्तिमाथि प्रश्न उठिरहेका बेला पहिलो पाइला नेपालको कमल शाखाले भने आफ्नो कामको शैली फरक हुने संकेत गरेको छ। शाखाको नेतृत्व सम्हालेकी सञ्जु निरौलाले संस्था केवल औपचारिक गतिविधिमा सीमित नभई समाजमा देखिएका विकृति, विसंगति र बेथितिविरुद्ध आवाज उठाउने दाबी गरेकी छन्।
कमल गाउँपालिका–५ पाडाजुँगीमा सम्पन्न नयाँ कार्यसमिति गठन तथा पदस्थापना कार्यक्रममा निरौलाको भनाइले कार्यक्रमको औपचारिकताभन्दा बढी ध्यान खिच्यो। अध्यक्षको जिम्मेवारी पाएलगत्तै उनले संस्थाको प्राथमिकता स्पष्ट पार्दै भनिन्, “पहिलो पाइला नेपाल केवल फोटो खिच्ने र खिचाउने संस्था होइन।” उनको यो भनाइलाई सामाजिक क्षेत्रमा काम गर्ने संस्थाहरूले आफ्नो भूमिका पुनःपरिभाषित गर्नुपर्ने संकेतका रूपमा हेरिएको छ।
नौ सदस्यीय नयाँ कार्यसमितिको अध्यक्षमा सञ्जु निरौला चयन भएकी हुन्। उपाध्यक्षमा कुमार पराजुली, सचिवमा दीपेन्द्र खतिवडा, कोषाध्यक्षमा कोशिस भुजेल तथा सदस्यहरूमा नितेस शिवाकोटी, रविन राई, लिला भण्डारी, आशिष प्रधान र निकिता गौतम चयन भएका छन्। निर्वाचन संयोजक खेमराज सापकोटाले नयाँ कार्यसमिति घोषणा गरेका हुन्।
कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई प्रमुख अतिथि तथा उपाध्यक्ष प्रमिला तिवारी विशेष अतिथिका रूपमा सहभागी थिए। अध्यक्ष राईले पहिलो पाइला नेपालले सामाजिक क्षेत्रमा गर्दै आएको मानवीय तथा सामाजिक सेवाको प्रशंसा गर्दै कमल शाखाको स्थापनाले स्थानीयस्तरमा सामाजिक अभियान थप मजबुत हुने विश्वास व्यक्त गरे। सामाजिक क्षेत्रमा क्रियाशील संस्थासँग स्थानीय सरकार सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो।
तर नयाँ नेतृत्वको वास्तविक परीक्षा अब सुरु भएको छ।
किनकि सामाजिक संस्था खोल्नु र समिति गठन गर्नु आफैँमा उपलब्धि होइन। उपलब्धि तब देखिन्छ, जब समुदायमा देखिएका समस्या उठ्छन्, दबिएका आवाज सुनिन्छन् र समाधानका लागि परिणाम देखिने काम हुन्छ। यही चुनौतीबीच अध्यक्ष निरौलाले आगामी कार्यदिशा सार्वजनिक गरेकी छन्।
उनका अनुसार कमल शाखाले समुदायका वास्तविक आवश्यकता पहिचान गरेर शिक्षा, स्वास्थ्य, वातावरण, मानवीय सहयोग तथा सामाजिक सचेतनाका क्षेत्रमा काम गर्नेछ। तर उनको प्रतिबद्धताको सबैभन्दा चासोको विषय भने विकृति, विसंगति र बेथितिविरुद्ध आवाज उठाउने घोषणाहो।
सामाजिक संस्थाहरू प्रायः सहयोग, राहत र सचेतनामूलक कार्यक्रममै सीमित हुने गरेको अवस्थामा कुनै संस्थाले बेथितिविरुद्ध आवाज उठाउने घोषणा गर्नु आफैँमा चुनौतीपूर्ण कदम हो। किनकि सामाजिक विकृति औँल्याउनु सजिलो भए पनि त्यसको विरुद्ध उभिनु त्यति सहज हुँदैन। अझ स्थानीय तहमा रहेर समुदायसँग प्रत्यक्ष जोडिँदै काम गर्दा सम्बन्ध, दबाब र विभिन्न परिस्थितिको सामना गर्नुपर्ने अवस्था आउन सक्छ।
यही कारण सञ्जु निरौलाको नेतृत्वलाई अब भाषणभन्दा कामले परीक्षण गर्नेछ।
उनले उठाएको प्रश्न पनि स्पष्ट छ,समाजमा समस्या देखेर केवल तस्वीर खिच्ने कि समस्या समाधानका लागि मैदानमै उत्रिने? निरौलाले दोस्रो बाटो रोज्ने संकेत गरेकी छन्।
उनको नेतृत्वमा कमल शाखाले आगामी दिनमा कस्तो भूमिका खेल्छ भन्ने कुरा चासोको विषय बनेको छ। विशेषगरी शिक्षा, स्वास्थ्य, वातावरण र मानवीय सहयोगसँगै सामाजिक बेथितिका विषयमा संस्था कत्तिको सक्रिय हुन्छ भन्ने कुराले नयाँ नेतृत्वको प्रभावकारिता निर्धारण गर्नेछ।
कार्यक्रममा सहभागी अतिथिहरूले पनि नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै सामाजिक सेवाका अभियानलाई निरन्तरता दिन आग्रह गरेका छन्। स्थानीय सरकारसँग सहकार्यको वातावरणसमेत देखिएको छ। यसले नयाँ शाखालाई काम गर्ने अवसर दिएको छ; तर अवसरसँगै परिणाम देखाउने दबाब पनि थपिएको छ।
सञ्जु निरौलाले कमलमा ‘पहिलो पाइला’ चालेकी छन्। अब त्यो पाइला कता जान्छ भन्ने प्रश्न महत्वपूर्ण छ।
यदि संस्था केवल कार्यक्रम, भाषण र तस्वीरमै सीमित भयो भने यो पनि अरू धेरै संस्थाजस्तै भीडमा हराउनेछ। तर उनले घोषणा गरेझैँ समुदायका वास्तविक समस्या पहिचान गरेर आवाज उठाउने, बेथितिविरुद्ध प्रश्न गर्ने र आवश्यक ठाउँमा हस्तक्षेप गर्ने हो भने कमल शाखा स्थानीय सामाजिक अभियानको प्रभावशाली केन्द्र बन्न सक्छ।
त्यसैले अहिलेको खबर नयाँ समिति गठन भएको मात्र होइन।
खबर त यो हो- सञ्जु निरौलाको नेतृत्वमा कमलमा एउटा यस्तो सामाजिक संस्थाले पाइला टेकेको छ, जसले आफूलाई ‘फोटो खिच्ने संस्था होइन’ भनेर सार्वजनिक रूपमा घोषणा गरेको छ।अब नजर काममा हुनेछ। घोषणा कडा छ। अपेक्षा ठूलो छ। चुनौती अझ ठूलो छ।
र यसको जवाफ अब सञ्जु निरौलाको नेतृत्वले कामबाट दिनुपर्नेछ।


