चितवन – भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि भरतपुर महानगरपालिकाले १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
महानगरपालिकाको कार्यपालिकाको बैठकले बाढी प्रभावितका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन महानगरपालिकाले सहयोग गर्ने निर्णय गरेको जनाएको छ।
यसैगरी, संघीय सरकारको तर्फबाट सरकारी कर्मचारीको तलब कटौती गरी ५३ लाख ६८ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने तयारी गरिएको भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले बताए।
उनका अनुसार बाढी प्रभावितलाई थप सहयोग जुटाउने उद्देश्यले भरतपुर महानगरपालिकाले चितवनका सामुदायिक तथा निजी विद्यालयसँग समेत छलफल गर्ने तयारी गरेको छ। त्यसका लागि भोलि जिल्लाका विद्यालयका प्रतिनिधिसँग छलफल गरिने उनले जानकारी दिए।
भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि विभिन्न स्थानीय तह, संघसंस्था तथा नागरिकस्तरबाट राहत सहयोग जुटाउने क्रम जारी छ।
भरतपुर महानगरपालिकाले पनि विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्न स्थानीय तहको तर्फबाट आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।


