भोटेकोशी बाढीपीडितका लागि ग्लोबल आइएमई बैंकले ५ करोड दिने

एटुजेड समाचार

काठमाडौं  –  भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन ग्लोबल आइएमई बैंक लिमिटेडले ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धार, घाइतेको उपचार, तत्काल राहत वितरण र दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले संस्थागत सामाजिक

उत्तरदायित्वअन्तर्गत सहयोग घोषणा गरिएको बैंकले जनाएको छ। भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीका कारण मानवीय क्षतिसँगै कैयौँ नागरिक बेपत्ता भएका छन् भने धेरै परिवार विस्थापित भएका छन्। बाढीले बस्ती, पुल, सडक तथा जलविद्युत् आयोजनासहितका भौतिक संरचनामा समेत व्यापक क्षति पुर्‍याएको छ।

बैंकले विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ताको खोजी, घाइतेको उपचार तथा प्रभावित परिवारलाई खाद्यान्न, आवास र अन्य आवश्यक राहत उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

ग्लोबल आइएमई बैंकले राष्ट्रिय संकट तथा प्राकृतिक विपद्का समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर सहयोग गर्दै आएको जनाएको छ। यसअघि पनि बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्का समयमा बैंकले आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराएको दाबी गरेको छ।

बैंकका अनुसार ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकका ३४१ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय सञ्चालनमा छन्। विपद्को यस कठिन घडीमा बैंकले घोषणा गरेको ५ करोड रुपैयाँको सहयोगले प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतसँगै पुनर्स्थापनाका प्रयासमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। S

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु