चितवन – भोटेकोशी बाढीमा परी बेपत्ता भएका तथा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि चितवन आउने आफन्तलाई निःशुल्क खाना र बस्ने व्यवस्था गरिएको छ ।
अन्य जिल्लाबाट शव पहिचानका लागि चितवन आउने मृतकका आफन्तलाई लक्षित गरी भरतपुर र सौराहाका होटलमा निःशुल्क आवास तथा खानाको व्यवस्था गरिएको हो।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार शव पहिचानका लागि आउने आफन्तलाई सहज रूपमा बसोबास तथा खानाको व्यवस्था मिलाउन होटल व्यवसायीसँग समन्वय गरिएको छ।
उनका अनुसार होटल संघ चितवनको समन्वयमा क्षेत्रीय होटल संघ तथा होटल व्यवसायी संघले आवश्यक व्यवस्थापन गर्ने निर्णय भएको छ।
बाढीपछि त्रिशूली र नारायणी नदीमा भेटिएका शवको पहिचान तथा आफन्तलाई बुझाउने प्रक्रिया चलिरहेको अवस्थामा टाढाका जिल्लाबाट आउने परिवारलाई आवास तथा खानाको समस्या नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको प्रशासनले जनाएको छ।
शव पहिचानका लागि चितवन आउने आफन्तले सम्बन्धित निकायमार्फत होटल व्यवस्थापनका लागि आवश्यक समन्वय गर्न सक्ने जनाइएको छ।


