चितवन – भोटेकोसीबाट आएको बाढी देवघाट क्षेत्र पार गरेको जानकारी आएसँगै चितवन र नवलपुर जोड्ने नारायणी पुलमा सवारीसाधनको आवतजावत रोकिएको छ।
नारायणी नदीमा पानीको बहाव बढ्दै गएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता अपनाइएको हो। पुलमा सवारी आवागमन रोकिएपछि चितवनतर्फ तथा नवलपुरतर्फ जाने–आउने सवारीसाधन प्रभावित भएका छन्।
बाढीका कारण नारायणी नदीको जलस्तर थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै सम्बन्धित निकायले पुल तथा आसपासका क्षेत्रमा निगरानी बढाएका छन्। नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा समेत उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
यसैबीच, पुलमा आवतजावत रोकिएपछि यात्रु तथा चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा नदीको अवस्था सामान्य नभएसम्म जोखिमपूर्ण स्थानमा नजान आग्रह गरिएको छ।


