चितवन — चितवनको भरतपुर महानगरपालिका–१ आपटारीस्थित विद्युत् सबस्टेसन कार्यालयअगाडि भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय रामनगरका अनुसार आज बिहान करिब ५:५० बजे नारायणगढबाट रामनगरतर्फ जाँदै गरेको बा ८० प ७०७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गलत लेनमा पुगेपछि विपरीत दिशाबाट आफ्नै लेनमा आउँदै गरेको बा प्र ०३–००१ ख ३५३० नम्बरको ट्रकको अगाडिको भागमा ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका–१३ निवासी करिब २०/२१ वर्षीय चालक संदेश विष्ट र तनहुँको भानु नगरपालिका–७ निवासी १९ वर्षीय पुकार श्रेष्ठ गम्भीर घाइते भएका थिए। दुवैलाई उपचारका लागि नयाँ मेडिकल कलेज पठाइएकोमा मोटरसाइकल चालक संदेश विष्टलाई बिहान ६:५३ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि रामनगरबाट आपटारीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको HR05BJ 0466 नम्बरको कारसमेत ट्रकको पछाडिको भागमा ठोक्किएको थियो। उक्त दुर्घटनामा कारको अगाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन र ट्रक चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१८ निवासी ३६ वर्षीय बुद्ध लामालाई जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा राखिएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय रामनगरबाट करिब १.५ किलोमिटर दक्षिणमा पर्छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


