काठमाडौं – रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–७ की मोतिकला ओलीका लागि बुधबारको दिन विशेष बन्यो । पानीमा परेर पुरानो नागरिकता च्यातिएपछि प्रतिलिपि निकाल्न जिल्ला प्रशासन कार्यालय पुगेकी मोतिकलाले आफ्नै छोराको हातबाट नागरिकता पाइन् ।मोतिकलाका छोरा केशव ओली रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत छन् । नागरिकताको प्रतिलिपि जारी गर्ने अधिकारीका रूपमा उनले आफ्नै आमाको नागरिकतामा रातो कलमले हस्ताक्षर गरे ।
पुरानो नागरिकता प्रयोग गर्न नमिल्ने भएपछि प्रतिलिपिका लागि आवश्यक कागजात जुटाउन केशवले नै आमालाई सहजीकरण गरेका थिए । तर, आमाको नागरिकताको प्रतिलिपिमा आफैंले हस्ताक्षर गर्नुपर्ने संयोग भने उनलाई पनि अप्रत्याशित लागेको थियो ।
‘आमाको नागरिकतामा मैले नै हस्ताक्षर गर्न पाउने भएँ भन्ने थाहा पाएपछि निकै खुसी लाग्यो,’ केशवले भने । सरकारी सेवामा २०७५ सालमा शाखा अधिकृतका रूपमा प्रवेश गरेका उनले पछिल्लो एक वर्षदेखि रुकुम पश्चिममा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका छन् । सयौं नागरिकतामा हस्ताक्षर गरिसकेका केशवले आमाको नागरिकतामा हस्ताक्षर गरेको क्षणलाई जीवनभर सम्झिरहने ‘स्वर्णिम पल’ भएको बताए ।
छोराकै हातबाट नागरिकता पाएपछि मोतिकला पनि भावुक बनिन् । ‘छोरा त सीडीओ साहेब पो भएछ, तपाईंको नागरिकतामा मैले नै सही गर्ने हो भनेपछि म गद्गद भएँ,’ उनले भनिन् ।


