मौसम फेरिएसँगै देशभर भाइरल ज्वरो र इन्फ्लुएन्जाको संक्रमण बढ्दो

एटुजेड समाचार

काठमाडौं – केही दिनयता भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढेकाछन्। अत्यधिक ज्वरो आउने, हातगोडासहित टाउको दुख्ने तथा रुघाखोकीका लक्षण लिएर बिरामीहरू अस्पताल पुग्ने गरेका हुन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक सातायता टाइफाइड, भाइरल ज्वरो र झाडापखालाको समस्या लिएर आउने बिरामीको संख्या पनि बढेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार देशभर इन्फ्लुएन्जा, कुनै संक्रमण जस्तै देखिने लक्षण भएका बिरामी र भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ।

ईडीसीडीको पछिल्लो विवरण अनुसार कुनै संक्रमण जस्तै देखिने लक्षण भएका बिरामी १२ हजार ६०९ जना, ज्वरोका बिरामी एक ६७८ जना र इन्फ्लुएन्जा ४६४  बिरामी देशभरबाट रिपोर्ट भएको देखिएको छ।

यता टेकुस्थित शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पतालमा पनि पछिल्ला दिनमा रुघाखोकी, ज्वरोका बिरामी दैनिक ओपीडीमा जाने संख्या बढेको जनाएको छ। ‘केही दिन यता ज्वरो आउने, हातगोडासहित टाउको दुख्ने तथा रुघाखोकी लाग्ने जस्ता लक्षण लिएर बिरामीहरू उपचारका लागि आउने बिरामीको संख्या पहिले भन्दा अलि बढी छ’, अस्पतालका ओपीडी इन्चार्ज शंकर पाण्डेले भने, ‘हुन त यो मौसम भनेको यस्ता बिरामी अलि बढी देखिने मौसम पनि हो।’

अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार यो मौसममा बाहिरी तापक्रम धेरै हुने भएकाले यो समयमा भाइरलजन्य संक्रमणका बिरामी बढ्दै गएको समेत उनको भनाइ छ। पानीजन्य संक्रमण बढ्ने हुँदा पानी उमालेर मात्र खाने, घरबाहिर निस्कँदा मास्कको प्रयोग गर्ने, बासी खानेकुरा नखाने गर्नुपर्ने समेत डा. पुनले बताए।

यस्तै भीडभाडमा नजाने, बाहिरबाट घर पुगेपछि साबुनपानीले हात धुने, सफा उमालेको पानी र सफा ताजा खानेकुरा खानुपर्ने र ज्वरो बढ्दै गएमा तुरुन्त अस्पताल जान पुनको सुझाव छ।

कसरी बच्ने?

प्राय: यो मौसममा सरुवा रोगबाट जोगिन सबैभन्दा पहिले हरेक व्यक्तिले  व्यक्तिगत सरसफाइमा ध्यान दिन आवश्यक हुन्छ। यो मौसममा  उच्च तापक्रमसँगै अधिक मात्रामा वर्षा हुने भएकाले हामीले खाने पानीको शुद्धतामा विशेष ध्यान दिनु आवश्यक हुन्छ।

वर्षातमा दूषित पानीबाट लाग्ने रोगहरूबाट बच्ने सबैभन्दा पहिलो विकल्प भनेकै दूषित पानीको सेवन नगर्नु हो। अर्को यो मौसममा बासी खाने कुरा तथा काँचो खानेकुरा खानुहुँदैन। सकेसम्म घरबाट बाहिर निस्कँदा माक्‍सको प्रयोग गर्नुपर्छ।

इन्फ्लुएन्जा र भाइरल ज्वरो दुवै भाइरसका कारण हुने गर्छ।  समान प्रकृतिका लक्षण हुन्छन्।

इन्फ्लुएन्जा मुख्यतया नाकबाट पानी बग्ने, हाच्छ्युँ आउने र सामान्य वा हल्का ज्वरो आउँछ। भाइरल ज्वरोमा भने शरीर भारी हुने, ज्वरो आउने, टाउको तथा हाडजोर्नी र मांसपेशी दुख्ने लक्षण देखिन्छ।

इन्फ्लुएन्जाको लक्षण

नाक बन्द हुने वा बाक्लो सिँगान बग्ने।

लगातार हाच्छ्युँ आउने।

घाँटी दुख्ने तथा खसखस हुने।

शरीर तातो हुने वा सामान्य ज्वरो आउने।

थकान महशुस हुने।

भाइरल ज्वरोका लक्षण-

एक्कासि उच्च ज्वरो आउने।

जोर्नी र मांसपेशी धेरै  दुख्ने।

कडा टाउको दुखाइ र चक्कर लाग्ने।

खान मन नलाग्ने र बढी नै कमजोरी हुने।

कतिपयलाई बान्ता हुने वा झाडापखाला।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु