सुदूरपश्चिममा नेकपालाई मन्त्री छान्न सकस

धनगढी –  नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेको गठबन्धनमा मुख्यमन्त्री बनेकै दिन नेकपाका खगराज भट्टले नेकपाका तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्रीमा नियुक्त गरे । तर नेकपाबाट मन्त्री बन्नेहरुको टुंगो अझै लाग्न नसक्दा मुख्यमन्त्री भट्टले आफ्नो दलको भागमा परेका मन्त्रालयमा अझै मन्त्री नियुक्त गर्न सकेका छैनन् ।

नेकपामा रहेका साविकका तीन पार्टी (नेकपा माओवादी, नेकपा एस र नागरिक उन्मुक्ति पार्टी) ले आफ्नो समुहको सम्मानजनक सहभागिताको दवाव बढाएपछि नेकपाबाट मन्त्रीको टुंगो लाग्न नसकेको हो ।

केन्द्रमा भएको राजनीतिक फेरबदल र नेपाली कांग्रेस–एमाले गठबन्धन टुटेपछि सुदूरपश्चिममा नेकपा र नेकपा एमालेको गठबन्धनमा वर्तमान प्रदेश सरकार बनेको हो ।

नयाँ सत्ता समीकरणमा नेकपाले मुख्यमन्त्री र तीन मन्त्रालय र नेकपा एमालेले तीन मन्त्रालय पाउने सहमति भएको छ । नेकपा एमालेका भागमा परेको अर्थमन्त्री, सामाजिक विकास मन्त्री, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री र एक राज्यमन्त्री नियुक्त भैसकेका छन् ।

तर नेकपाको भागमा परेका भौतिक पूर्वाधार विकास मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्री र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त हुन सकेका छ्रैनन् ।

नेकपामा रहेका साविकका तीन पार्टीले आफ्नो समुहले बढी मन्त्री पाउनुपर्ने दवाव सिर्जना गरेपछि मन्त्रीको टुंगो लाग्न नसकेको हो । तीन वटै साविक घटकहरूको शक्ति सन्तुलन मिलाउन सकस हुँदा नेकपाले थप मन्त्रीको नाम टुंग्याउन नसकेको हो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सभामुख र एक निलम्बन बाहेक ३२ सिट सहित नेकपा सबै भन्दा ठूलो दल छ ।

दुई दलबीच सुदूरपश्चिममा नेकपाले मुख्यमन्त्री सहित ४ र एमालेले ३ मन्त्रालय पाउने सहमति भएको थियो । तत्कालीन नेकपा (एस) र नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकारमा आफ्नो ‘सम्मानजनक सहभागिता’ हुनुपर्ने अडान राख्दै शक्तिशाली मन्त्रालयहरूमा कडा दाबी प्रस्तुत गरेका छन् । साविकका तीनै घटकका शीर्ष नेताहरूले मन्त्री पदका लागि बलियो दाबी गरिरहेका छन् ।

विशेषगरी साबिकको नागरिक उन्मुक्ति पार्टीका नेताहरूले आफूहरूको भूमिका र योगदानको उचित मूल्याङ्कन नभए सरकार गठनमै समस्या आउन सक्ने चेतावनी दिएका छन् । नेपाली कम्युनिष्ट पार्टी (साविकको नागरिक उन्मुक्ति पार्टी) का प्रदेश सभा सदस्य घनश्याम चौधरी मुख्यमन्त्री सबैलाई मिलाएर लैजाने बताएको उल्लेख गर्दै भन्छन् ‘खै कसरी मिलाउनु हुन्छ, त्यो त पछि थाहा होला ।’

आन्तरिक किचलोका कारण तत्कालका लागि नेकपाले मुख्यमन्त्रीमा खगराज भट्टको नाम मात्र सिफारिस गर्न बाध्य भएको थियो । अर्काेतर्फ, सत्ता साझेदार दल नेकपा एमालेले भने आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्री तयगरी शपथ समेत गराइसकेको छ ।

एमालेका तर्फबाट सामाजिक विकास मन्त्रीमा सन्तोष शर्मा थापा, आर्थिक मामिला मन्त्रीमा चक्र मल्ल, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा दमन भण्डारी र आर्थिक मामिला राज्यमन्त्रीमा जानकी ऐर बम नियुक्त भई पदभार ग्रहण गरिसकेका छन् । लामो समयदेखि बजेट शुन्यताको सामना गरिरहेको सुदूरपश्चिम प्रदेशलाई गति दिन नवनियुक्त मुख्यमन्त्री भट्टलाई जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने दबाब छ ।

सम्मान हुने गरि छनौट गर्छौ : मुख्यमन्त्री भट्ट

मुख्यमन्त्री खगराज भट्टले भने साविकका सबै घटकको सम्मान हुने गरी मन्त्रीको छनौंट गरिने बताएका छन् । उनले सो विषयमा केन्द्रिय तथा प्रदेश तहमा छलफल भइरहेको बताए । ‘एक दुई दिनमै हामी सबै मन्त्रीको नाम टुंगोमा पुर्याउने गरी छलफल गरिरहेका छौं,’ मुख्यमन्त्री भट्टले भने, ‘मन्त्री छनौट गर्दा सबैको सम्मान हुने छ ।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु