रोल्पा – लगातारको अविरल वर्षाका कारण रोल्पाको थबाङ गाउँपालिका-५ बोटलबारामा पहिरो जाँदा घर र गोठ पुरिएर दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगर रहेका छन्। पहिरोमा परी सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर गम्भीर घाइते भएका छन्।
साउन २७ गते दिउँसोदेखि परेको भारी वर्षाका कारण खसेको पहिरोले घर तथा गोठहरू पुरेको थियो। घटनाको जानकारी पाउनासाथ गए राति घटनास्थल पुगेको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाएको छ। घाइते दुवैको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुमान अनुसार पहिरोका कारण छ वटा घर तथा गोठहरूमा क्षति पुगेको छ। घटनाको पूर्ण क्षति र थप विवरण आउन अझै बाँकी रहेको प्रहरीले जनाएको छ।


