यस वर्षको दोस्रो ब्लकबस्टर फिल्म ‘गौँथली’ले प्रदर्शनको २४ दिनमै ठूलो व्यावसायिक उपलब्धि हासिल गरेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको सिनेपाः बक्स अफिसको विवरणअनुसार फिल्मले हिजो आइतबार (२४ साउन)सम्म १९ करोड ७१ लाखभन्दा बढी कमाइ गरेको छ । योसँगै ‘गौँथली’ सर्वाधिक कमाउने चौथो नेपाली फिल्म बनेको छ ।
अब यो फिल्म १९ करोड ९२ लाखसहित तेस्रो स्थानमा रहेको ‘१२ गाउँ’को रेकर्ड तोड्ने बाटोमा छ । सम्भवतः सोमबार साँझसम्म यो रेकर्ड तोडिन सक्छ । यसपछि ‘कबड्डी ४’को २१ करोड ४० लाखको रेकर्ड तोड्ने बाटोमा फिल्म अगाडि बढ्नेछ । फिल्मको व्यापारिक रफ्तार हेर्दा नेपाली फिल्मको इतिहासमै सर्वाधिक कमाउने दोस्रो फिल्म बन्ने निश्चित देखिन्छ ।
साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्मले चौथो सातामा पनि आक्रामक व्यापारलाई कायम राखेको छ । गत शनिबार मात्र फिल्मले डेढ करोडभन्दा बढी कमाइ गर्यो । आइतबारको व्यापार पनि ४० लाखमाथि छ । यसले फिल्मप्रति दर्शकको आकर्षण अझै नघटेको स्पष्ट देखाउँछ । विशेषगरी महिला दर्शकहरूको चाप हलमा उच्च देखिएको छ ।
बोर्डको तथ्यांकअनुसार आइतबारसम्म फिल्मका ७ लाख १५ हजार १९८ वटा टिकट बिक्री भएका छन् । २४ दिनमा यति ठूलो संख्यामा टिकट बिक्री गर्ने ‘पूर्णबहादुरको सारङ्गी’पछिको यो पहिलो फिल्म हो । अब सबैको चासो एउटै छ— ‘गौँथली’ले कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को कमाइलाई पनि उछिन्ला ? यसका लागि फिल्मले अझै २७ करोड बढी कमाउनुपर्छ ।
डा. भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशनमा बनेको यस फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारहरूको अभिनय रहेको छ । फिल्मले शिक्षाको महत्त्व दर्शाउँदै श्रीमान्-श्रीमतीको सम्बन्धको कथा पेस गरेको छ ।


