निर्मल पुर्जासहित चार नेपालीको शव इस्लामावाद ल्याइयो, पुर्जाको अन्त्येष्टि बेलायतमा गरिने

एटुजेड समाचार

काठमाडौं – पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित चार नेपालीको शव घटनास्थलबाट पाकिस्तानको राजधानी इस्लामावाद ल्याइएको छ।

नेपाली समयअनुसार दिउँसो साढे १ बजे इस्लामावाद ल्याइएका शवहरूमा निर्मल पुर्जा, किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाका रहेका छन्। ब्रोड पिक हिमपहिरोमा परी ६ जना नेपालीसहित १० जनाको मृत्यु भएको थियो। मृतक नेपालीमध्ये पुरबहादुर गुरुङ ‘युक्त’को शव यसअघि नै बिहीबार (साउन २१ गते) नेपाल ल्याइएको थियो।

परिवारको इच्छाअनुसार विश्वप्रसिद्ध आरोही निर्मल पुर्जाको शव भने बेलायत लगिने र त्यतै अन्त्येष्टि गरिनेछ। यस विषयमा जानकारी दिँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यो पूर्ण रूपमा परिवारको चाहनामा निर्भर हुने विषय भएको बताएका छन्।

भौगोलिक कठिनाइ र प्रतिकूल मौसमका कारण घटनास्थलमा अझै पनि एक जना नेपाली (नवाङ थिन्डु शेर्पा), एक जना पाकिस्तानी र एक जना अमेरिकी नागरिकको शव बाँकी रहेको छ। उनीहरूको शव संकलन गरी बाहिर ल्याउने प्रयास भइरहेको र उद्धारकार्यमा पाकिस्तानी निकाय तथा नेपाली टोली खटिरहेको दूतावासले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु