चितवन – दाह्रा काटेर रेडियो कलर जडान गरी कडा निगरानीमा राखिएको भनिएको ध्रुवे हात्तीले फेरि माडी क्षेत्रमा उपद्रो मच्चाएको छ।माडी नगरपालिका–१ अमिलियामा बुधबार राति करिब ३ बजे ध्रुवे हात्ती बस्तीमा पसेर ब्लकले बनेको एक घरमा क्षति पुर्याएको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार हात्तीले घरको संरचनामा क्षति पुर्याउनुका साथै नुनको बोरा लगेको, माछा तथा गाईवस्तुको दाना छरपस्ट बनाएको र घरभित्र रहेका अन्य सामग्रीसमेत बिगारेको छ। घटना हुँदा घरधनीसहित स्थानीयबासी मचानमा बसेका कारण मानवीय क्षति भने हुन पाएन।
ध्रुवे हात्ती यसअघि पनि माडीका विभिन्न बस्तीमा पटक–पटक प्रवेश गरी जनधनको क्षति पुर्याउँदै आएको थियो। बढ्दो जोखिमलाई मध्यनजर गर्दै चितवन राष्ट्रिय निकुञ्जले गत असार ३१ गते ध्रुवेलाई नियन्त्रणमा लिएर दुवै दाह्रा काट्नुका साथै नयाँ रेडियो कलर जडान गरेको थियो। त्यसपछि केही समय निकुञ्जभित्रै सीमित रहेको हात्ती पुनः बस्तीमा पसेपछि स्थानीयमा त्रास बढेको छ।
चितवन राष्ट्रिय निकुञ्जका अनुसार रेडियो कलरमार्फत ध्रुवे हात्तीको गतिविधि निरन्तर निगरानीमा राखिएको छ। हात्ती बस्ती नजिक पुगेको जानकारी प्राप्त हुनासाथ मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन, वडा कार्यालय तथा स्थानीयलाई सूचना दिई सुरक्षाकर्मीको सहयोगमा हात्तीलाई पुनः निकुञ्जतर्फ फर्काउने प्रयास भइरहेको निकुञ्जले जनाएको छ।
स्थानीयवासीले भने निगरानीका व्यवस्था भए पनि ध्रुवे हात्ती बारम्बार बस्तीमा पस्ने क्रम नरोकिएकाले थप प्रभावकारी व्यवस्थापन र दीर्घकालीन समाधानको माग गरेका छन्।


