काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपाली राजनीतिका लागि दीर्घकालीन चुनौती नभएको टिप्पणी गरेका छन्।
शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले रास्वपाको उदय लोकप्रियतावाद, अवसरवाद र अराजकताको जगमा भएको टिप्पणी गरेका हुन्। जति छिटो राष्ट्रिय शक्तिको रूपमा उदय भएको छ, यसको पतनको सम्भावना पनि उत्तिकै चाँडै हुने उनको दाबी छ ।
‘पपुलिजम जसरी रातारात राष्ट्रिय शक्तिका रूपमा उदय भयो, त्यसको जग के हो भन्ने प्रश्न उठ्छ। मेरो बुझाइमा यसको आधार पपुलिजम, अपर्चुनिजम र एनार्किज्म हो। यी तीनवटा आधारलाई टेकेर आज राष्ट्रिय स्वतन्त्र पार्टी प्रमुख राजनीतिक शक्तिका रूपमा उदाएको छ’, उनले भने, ‘तर म यहाँ के भन्न चाहन्छु भने, जुन शक्ति जति छिटो उदय हुन्छ, त्यसको पतनको सम्भावना पनि त्यति नै बढी हुन्छ । त्यसैले ‘जति छिटो उदय, त्यति छिटो पतनको जोखिम’ भन्ने यथार्थलाई बुझ्न आवश्यक छ।’
महासचिव पोखरेलले पार्टीलाई सुदृढ र एकतावद्ध बनाउन पुनर्गठने अभियान अघि बढाउने बताए। उनले आफूहरूपार्टीभित्र कुनै पनि प्रकारको समस्या उत्पन्न नहुने गरी अगाडि बढ्न खोजेका तर्क गरे।


