नेपाल–जापान सम्बन्धको ७० औँ बर्ष : साझा संस्कृति र आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं –  नेपाल एओटीएस एलुम्नाइ समाजका अध्यक्ष किशोरभक्त माथेमाले नेपाल–जापान सामाजिक–सांस्कृतिक समभाव प्रदर्शनी तथा व्यापार मेलाले दुई देशबीचको ऐतिहासिक मित्रता, सांस्कृतिक निकटता र आर्थिक साझेदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले उक्त धारणा राखेका हुन् ।  कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष माथेमाले नेपाल र जापानबीच भूगोल र भाषामा भिन्नता भएपनि संस्कृति, जीवनशैली, प्रकृतिप्रतिको सम्मान, पारिवारिक मूल्य, अनुशासन, समुदायप्रतिको उत्तरदायित्व र परम्पराको संरक्षणजस्ता धेरै साझा विशेषता रहेको उल्लेख गरे ।

प्रदर्शनीले यी समानतालाई तस्बिर, सांस्कृतिक सामग्री तथा विभिन्न प्रदर्शनीमार्फत उजागर गरेको उनको भनाइ थियो । माथेमाले प्रदर्शनी कुनै औपचारिक अनुसन्धान वा ठूलो कोषको आधारमा नभइ दुवै देशका संस्कृतिप्रेमी मित्रहरूको सामूहिक प्रयासबाट तयार पारिएको जानकारी दिए ।

प्रदर्शनीमा नेपाल र जापानका प्राकृतिक सम्पदा, वनस्पति, सांस्कृतिक परम्परा, वास्तुकला, हस्तकला, चाडपर्व, परिकार तथा जीवनशैलीबीच रहेका समान पक्षहरूलाई समेटिएको उनले बताए ।

उनका अनुसार प्रदर्शनीले जापानी आगन्तुकलाई नेपालको प्राकृतिक सौन्दर्यमा पुरानो जापानको झल्को दिने तथा नेपाली आगन्तुकलाई जापानका सांस्कृतिक सम्पदामार्फत आफ्नै मौलिक परम्पराको अनुभूति गराउने उद्देश्य राखेको छ ।

अध्यक्ष माथेमाले व्यापार मेलाले दुवै देशका व्यवसायीलाई उत्पादन, प्रविधि, सेवा, लगानी र पर्यटनका सम्भावना प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको बताए। यसले व्यवसाय–व्यवसायबीचको सहकार्य, सीप तथा प्रविधि हस्तान्तरण, लगानी प्रवद्र्धन र दिगो आर्थिक साझेदारीलाई थप विस्तार गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा जापानको परम्परागत चानोयु (चिया समारोह) पनि प्रस्तुत गरिएको उल्लेख गर्दै उनले यो केवल चिया पिउने संस्कार नभई सद्भाव, सम्मान, शुद्धता र शान्तिको जीवनदर्शन भएको बताए । यी मूल्यहरू नेपाली आतिथ्यता र सामाजिक संस्कृतिसँग पनि मेल खाने उनले उल्लेख गरे ।

अध्यक्ष माथेमाले जापानस्थित नेपाली राजदूतावास, एओटीएस जापान, नेपालस्थित जापानी चेम्बर अफ कमर्स तथा व्यापार मेलामा सहभागी नेपाली र जापानी कम्पनीहरूप्रति आभार व्यक्त गर्दै प्रदर्शनीलाई सफल बनाउन सबैले गरेको सहयोगको प्रशंसा गरे ।

उनले नेपाल–जापान सामाजिक–सांस्कृतिक प्रदर्शनी तथा व्यापार मेला दुई देशबीचको मित्रता, पारस्परिक सम्मान र साझा समृद्धिको प्रतीक बनेको उल्लेख गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमले द्विपक्षीय सम्बन्धलाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।

यसैगरी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल र जापानबीचको व्यापार, लगानी, प्रविधि हस्तान्तरण तथा निजी क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । अग्रवालले दुई देशबीचको सम्बन्ध पारस्परिक विश्वास, सम्मान र सद्भावमा आधारित रहेको बताए ।

उनले जापान नेपालका सबैभन्दा भरपर्दा विकास साझेदारहरूमध्ये एक रहेको उल्लेख गर्दै पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा, विपद् जोखिम न्यूनीकरण, खानेपानी, यातायात तथा औद्योगिक आधुनिकीकरणलगायतका क्षेत्रमा जापानले निरन्तर सहयोग गर्दै आएको बताए । बीपी राजमार्ग र हालै सञ्चालनमा आएको नागढुङ्गा सुरुङमार्ग जापानी सहयोगका उल्लेखनीय उदाहरण भएको उनको भनाइ थियो ।

अग्रवालले जापानले आर्थिक सहयोगसँगै ज्ञान, प्रविधि, संस्थागत सुदृढीकरण र जनशक्ति विकासमा समेत महत्वपूर्ण योगदान पु¥याएको बताए। जापानमा अध्ययन, तालिम र रोजगारीको अवसर प्राप्त गरेका नेपाली युवाले हासिल गरेको सीप, कार्यसंस्कृति र प्राविधिक ज्ञानले नेपालको औद्योगिक विकास तथा आर्थिक रूपान्तरणमा योगदान पुर्याइरहेको उनले उल्लेख गरे ।

उनले नेपाल र जापानबीचको वर्तमान व्यापार वास्तविक सम्भावनाभन्दा निकै कम रहेको भन्दै यसलाई अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा राखे । जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, उत्पादन, पूर्वाधार, नवीकरणीय ऊर्जा, स्वास्थ्य, शिक्षा, लजिस्टिक्स तथा डिजिटल सेवाजस्ता क्षेत्रमा दुवै देशबीच सहकार्य विस्तार गर्न सकिने उनले बताए ।

उनका अनुसार जापानसँग उन्नत उत्पादन, स्वचालन, रोबोटिक्स, हरित प्रविधि र गुणस्तर व्यवस्थापनमा विश्वस्तरीय अनुभव रहेको छ भने नेपालसँग प्राकृतिक स्रोत, युवा जनशक्ति र क्षेत्रीय बजारमा पहुँचको सम्भावना छ ।

यी विशेषताका आधारमा संयुक्त लगानी, प्रविधि हस्तान्तरण, औद्योगिक आधुनिकीकरण, कृषि प्रशोधन, सीप विकास, स्टार्टअप प्रवद्र्धन, साना तथा मझौला उद्यमको विकास तथा हरित पूर्वाधार निर्माणमा सहकार्य गर्न सकिने उनले बताए ।

अध्यक्ष अग्रवालले नेपाल चेम्बर अफ कमर्स व्यापार सहजीकरण, लगानीमैत्री वातावरण निर्माण तथा निजी क्षेत्रको साझेदारी विस्तारका लागि नेपाल सरकार, जापानी निकाय तथा विकास साझेदारहरूसँग निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको बताए ।

उनले नेपाल–जापान सम्बन्ध सरकारस्तरमा मात्र सीमित नभई जनस्तर, शैक्षिक संस्थाहरू, उद्योग–व्यवसाय र निजी क्षेत्रको सक्रिय सहभागिताबाट अझ सुदृढ हुँदै गएको बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु