नेपाल चिकित्सक संघले आज (मंगलबार) देशैभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ। चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा यो निर्णय गरिएको हो।
वीरगन्जको नारायणी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण र तोडफोड भएको थियो। सोही घटनाका दोषीलाई कारबाहीको माग गर्दै पर्सा जिल्ला प्रशासन कार्यालयमा वार्ता चलिरहेको बेला प्रहरी परिचालन गरी चिकित्सकमाथि दुर्व्यवहार भन्दै संघले घोर भत्सर्ना पनि गरेको छ।
डा. प्रमोद रामलगायत घाइते चिकित्सकमाथि आक्रमण गर्नेलाई तत्काल पक्राउ गर्न माग गरिएको छ। ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ अनुसार कडा कारबाही गर्न भनिएको छ। साथै, पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई पनि कारबाही गर्न माग गरिएको छ। आन्दोलनका थप कार्यक्रम आजको सर्वपक्षीय भेलाले तय गर्ने जनाइएको छ। आन्दोलनबाट बिरामीलाई पर्ने असुविधाप्रति क्षमा माग्दै यसको जिम्मेवार नेपाल सरकार स्वयं हुने संघले स्पष्ट पारेको छ।
घाइते मेडिकल अफिसर डा. रामलाई थप उपचारका लागि काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ। सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ट्रमा सेन्टर पुगेर उनको स्वास्थ्य अवस्था जानकारी लिएकी थिइन्।
नारायणी अस्पतालको घटनाप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कानून हातमा लिएर हिंसात्मक गतिविधि गर्नु स्वीकार्य नहुने मन्त्रालयको ठहर छ। दोषीमाथि कानूनी कारबाही गर्न र अस्पतालमा सुरक्षित वातावरण बनाउन स्थानीय प्रशासनलाई आग्रह गरिएको छ।



